‘होल्डिङ सेन्टर’का सुकुम्बासीको माग सम्बोधन गर्न सरकारको ध्यानाकर्षण
काठमाडौँ। राष्ट्रिय सभामा सांसदहरूले ‘होल्डिङ सेन्टर’मा राखिएका सुकुम्बासीको माग सम्बोधन गर्न सरकारको ध्यानाकर्षण गराएका छन्।
राष्ट्रिय सभाको शून्य सयममा सांसदहरूले राष्ट्रिय धान दिवस मनाइरहँदा पानी, मल, बिउको अभाव हुन नदिनेतर्फ सचेत बन्नुपर्ने सुझाव दिए।
सांसद चन्द्रबहादुर केसीले ‘होल्डिङ सेन्टर’मा राखिएका सुकुम्बासीको माग सम्बोधन गर्न सरकारको ध्यानाकर्षण गराए। सांसद जगत तिमिल्सिनाले नेपालको संविधान, बालबालिकासम्बन्धी ऐनले १८ वर्षमुनिका व्यक्तिलाई पार्टी सदस्यता दिन निषेध गरेको बताए।
सांसद मीनासिंह रखालले राष्ट्रिय धान दिवस मनाइरहँदा पानी, मल, बिउ अभाव हुन दिन नहुनेतर्फ सरकार सचेत बन्नुपर्ने सुझाइन्।
सांसद रञ्जित कर्णले सप्तरीको राजविराजमा लाजपुर्जाको माग गर्दै आन्दोलनरत किसानको माग सम्बोधन गर्न सरकारसँग आग्रह गरे।
सांसद रेखाकुमारी झाले नेपाल खानेपानी संस्थान राजविराजमा राज्यकोषबाट सञ्चालिन सेतो नम्बर प्लेटको गाडीमा रातो प्लेट राखेर राज्यस्रोतको दोहन गरेकोप्रति सरकारको ध्यानाकर्षण गराइन्।
सांसद रोशनी मेचेले दलको सदस्य हुन १८ वर्ष पुग्नुपर्ने कानुनी व्यवस्था रहेकोतर्फ सरकारको ध्यानाकर्षण गराइन्। सांसद वासुदेव घिमिरेले हालैको दशजोड दुईको परीक्षामा केही त्रुटि देखिएकामा आपत्ति जनाए।
बैठकमा सांसद सम्झना देवकोटाले गोरखाको हिमाली क्षेत्रमा दुई नाका भए पनि दुवै नाका बन्द भएकाले जनजीवन कठिनाइ भएकोप्रति सरकारको ध्यानाकर्षण गराइन्। उनले पर्यटकीय पदमार्गका लागि मात्रै भए पनि नाका खोलाउनसमेत माग गरिन्।
सांसद सोमनाथ पोर्तेलले सुपारी निर्यात रोकिएकोप्रति सरकारको ध्यानाकर्षण गराए। उनले सुपारीको ‘डीएनए’ परीक्षण गर्ने निर्णय तत्काल फिर्ता लिएर किसानलाई सहयोग गर्न आग्रह गरे।