काठमाडौँ
००:००:००
१६ असार २०८३, मंगलवार

१६ असार २०८३
कृष्णप्रसाद सिटौला। तस्बिर : सरोकार
अ+
अ-

काठमाडौँ। नेपाली कांग्रेसका नेता कृष्णप्रसाद सिटौलाले राज्यका सबै निकायले आफ्नो स्वतन्त्रता गुमाइसकेको बताएका छन्।

काठमाडौँमा मंगलबार आयोजित संघीयता कार्यान्वयनमा प्रदेश संरचना : समसामयिक संवाद कार्यक्रममा उनले अहिले राज्य सञ्चालन संविधानबमोजिम चल्न नसकेको र प्रशासन, न्यायालय, प्रहरीलगायत संवैधानिक निकायले आफ्नो स्वतन्त्रता गुमाइसकेको बताए।

देश अहिले कसको नियन्त्रणमा छ भन्नसमेत गाह्रो रहेको उनले बताए। नेता सिटौलाले नेपालमा प्रतिशोधको राजनीति धेरै नै विकसित भइरहेको भन्दै यस्तो अवस्थाले देश र समाज बन्न नसक्ने उल्लेख गरे।

उनले विश्व राजनीतिको प्रभाव नेपालमा पनि रहेको र नराम्रो प्रभाव ज्यादा देखिएको धारणा राखे। राजनीतिक दलभित्र र राजनीतिक दलबीच अविश्वास दिनप्रतिदिन अझै गहिरिँदै गएको भन्दै सिटौलाले एक ठाउँमा बसेर देशका बारेमा सोच्ने परिस्थिति नै नरहेको जिकिर गरे।

उनले संविधान भनेको कुनै धार्मिक ग्रन्थ नभएकाले संविधानवादको विकासक्रममा संशोधन हुनुपर्नेमा जोड दिए। तर संशोधन गर्दा यसका मौलिक पक्ष जोगाउँदै कार्यान्वयनका क्रममा देखिएका त्रुटि सच्चाउनुपर्ने उनले बताए।

नेता सिटौलाले अहिलेको राज्य व्यवस्थालाई साँघुरो घेराभित्र राख्ने कि जनताको पहुँच हुने गरी फराकिलो पार्ने भन्ने प्रश्न देखिएको भन्दै संघीयताको राम्रा पक्षलाई बचाएर र कमजोरीलाई हटाएर नै अघि बढ्नुपर्ने बताए।