पर्यटन
दुर्लभ अर्ना, पाहुना चरा र सिमसार सम्पदाका कारण पूर्वी नेपालको प्रमुख वन्यजन्तु पर्यटन गन्तव्य बन्दै कोसी टप्पु
सुनसरी। सुनसरीको रामधुनी नगरपालिका-१, झुम्काका किरण सुनुवारले कोसी टप्पु वन्यजन्तु आरक्षबारे धेरै सुनेका थिए। घरबाट धेरै टाढा नभए पनि परिवारसहित त्यहाँ पुग्ने अवसर जुरेको थिएन। ७ असारमा भने उनी श्रीमती हरिमाया र छोरीहरू प्रश्ना तथा प्रेरणालाई लिएर आरक्ष पुगे।
आरक्षभित्रको हरियाली, खुला आकाश, चराचुरुंगीको आवाज र अर्नाको झुन्डले सुनुवार परिवारलाई मोहित बनायो। छोरीहरू आँखाअगाडि हात्ती, अर्ना र चरा देख्दा उत्साहित भए। “लामो समयदेखि कोसी टप्पु आउने धोको थियो,” किरण भन्छन्, “यहाँ आइपुग्दा निकै रमाइलो लाग्यो। चराचुरुंगी र अर्नाको झुन्ड देख्दा मनै फुरुंग हुने रहेछ।”
किरणको परिवार मात्र होइन, पछिल्लो समय कोसी टप्पुमा पूर्वी नेपालका बासिन्दा, विद्यार्थी, कर्मचारी र प्रकृतिप्रेमीको चहलपहल बढ्न थालेको छ। कुनै समय विदेशी अनुसन्धाता र चराप्रेमीको रोजाइमा बढी पर्ने यो आरक्ष अहिले आन्तरिक पर्यटकका लागि पनि सहज र आकर्षक गन्तव्य बन्दै गएको छ।

कोसी टप्पु वन्यजन्तु आरक्ष प्रवेश गेट। तस्बिर सौजन्य : दृष्टान्त बिडारी
विराटनगर महानगरपालिका-११, पिचराबाट आएकी मैया खड्काको परिवार पनि ९ असारमा कोसी टप्पुमै भेटियो। दिनभर वन्यजन्तु अवलोकन गरेपछि उनीहरू नजिकैको होमस्टेमा बास बसे।
१२ असारमा विराटनगरबाटै शंकर खरेल पनि श्रीमती र छोराछोरीसहित कोसी टप्पु पुगेका थिए। शुक्रबारको पारिवारिक घुमघामका लागि आएका उनी जस्तै धेरै आन्तरिक पर्यटकले आरक्षलाई नजिकको वन्यजन्तु गन्तव्यका रूपमा रोज्न थालेका छन्। २०३२ सालमा स्थापना भएको आरक्ष सुनसरी, सप्तरी र उदयपुरका केही भागमा फैलिएको छ।
बढ्दै आन्तरिक पर्यटक
आरक्ष कार्यालयको तथ्यांकले पनि कोसी टप्पुमा आन्तरिक पर्यटकको आकर्षण बढिरहेको देखाउँछ। आर्थिक वर्ष २०८१/८२ मा ११ हजार ६०३ पर्यटकले आरक्ष भ्रमण गरेका छन्। तीमध्ये ११ हजार २१४ नेपाली, ८७ सार्क मुलुकका र ३०२ अन्य विदेशी पर्यटक थिए।

कोसी टप्पुको हात्ती।
पर्यटक आगमनबाट आरक्षले २५ लाख १९ हजार १६६ रुपैयाँ राजस्व संकलन गरेको संरक्षण अधिकृत भूपेन्द्रप्रसाद यादवले बताए।
तथ्यांकअनुसार आरक्ष भ्रमण गर्नेमा ९५ प्रतिशतभन्दा बढी आन्तरिक पर्यटक छन्। यो कोसी टप्पु अब सीमित चराप्रेमी वा अनुसन्धाताको क्षेत्र मात्र नभई परिवारसहित घुम्न जाने नेपाली पर्यटकको गन्तव्य पनि बन्दै गएको संकेत हो।

कोसी टप्पु वन्यजन्तु आरक्षको कार्यालय। तस्बिर : सामाजिक सञ्जाल
यादवका अनुसार हिउँद सुरु भएपछि पर्यटकको संख्या बढ्ने गरेको छ। “पुस, फागुन र चैत महिनामा पर्यटकको संख्या सबैभन्दा बढी देखियो,” उनी भन्छन्, “पुसमा मात्रै एक हजार ४५७ जना आएका थिए। फागुन र चैतमा यो संख्या एक हजार ६०० नाघेको थियो।”
चराको दोस्रो घर
हिउँदमा कोसी टप्पुको आकर्षण अझ बढ्छ। साइबेरिया, रुस, ताजकिस्तानलगायत क्षेत्रबाट जाडो छल्न आउने पाहुना चराले आरक्षका सिमसार, घाँसे मैदान र जलाशयलाई जीवन्त बनाउँछन्। चरा अवलोकनमा रुचि राख्ने पर्यटकका लागि कोसी टप्पु नेपालकै महत्त्वपूर्ण गन्तव्य हो।
स्थानीयका अनुसार ‘बर्ड वाचिङ’ मा विशेष रुचि राख्ने पर्यटक धेरै संख्यामा नआए पनि आउनेहरू लामो समय लिएर आउँछन्। चराको गतिविधि नियाल्दै घन्टौँ बिताउँछन्। यसले कोसी टप्पुलाई साधारण घुमघामको गन्तव्य मात्र होइन, विशेष रुचि भएका पर्यटकका लागि पनि महत्त्वपूर्ण स्थल बनाएको छ।
चराका खोजकर्ता देवेन खरेल कोसी टप्पुमा अन्तर्राष्ट्रिय स्तरको पन्छी अवलोकन केन्द्र बन्ने सम्भावना देख्छन्। उनका अनुसार आरक्ष जैविक विविधताको प्रतीक मात्र नभई अध्ययन, अनुसन्धान र प्रकृति पर्यटनलाई जोड्ने महत्त्वपूर्ण क्षेत्र हो। उनी भन्छन्, “संरक्षणमा स्थानीय जनसहभागिता र वैज्ञानिक अध्ययनको निरन्तरता कायम रहन सके यो सम्भावना यथार्थमा बदलिन सक्छ।”

विभिन्न प्रकारका चराचुरुंगी।
कोसी पक्षी समाजका अध्यक्ष तथा चराका जानकार चक्र तिम्सिनाका अनुसार नेपालमा पाइने ९०३ प्रजातिका चरामध्ये ५३८ प्रजाति कोसी टप्पुमै भेटिन्छन्। विश्वमै दुर्लभ मानिने स्वाम्प फ्रान्कोलिनलगायत चराका कारण अन्तर्राष्ट्रिय स्तरका चराप्रेमीहरू यहाँ आउने गरेको उनी बताउँछन्।
तर, चरा र सिमसारको संरक्षणमा राज्यको लगानी अझै पर्याप्त नरहेको तिम्सिनाको भनाइ छ। सिमसार क्षेत्र सुक्दै जानु, मानवीय हस्तक्षेप बढ्नु र चराका वासस्थान संरक्षणमा पर्याप्त ध्यान नपुग्नु मुख्य चुनौती रहेको उनी बताउँछन्। “तीन तहकै सरकार चरा र वन्यजन्तु संरक्षणमा अलिक उदासीन देखिन्छन्,” तिम्सिना भन्छन्, “चराको संरक्षित क्षेत्र तोक्ने र वासस्थान जोगाउने काममा लगानी बढाउनुपर्छ।”
उनका अनुसार कोसी टप्पु मात्र होइन, नजिकै रहेको बर्जु ताल पनि चराका लागि ठूलो सम्भावना बोकेको क्षेत्र हो। यी दुवै क्षेत्रलाई जोडेर पर्यटकीय सर्किट बनाउन सके कोसी प्रदेशमा आन्तरिक तथा बाह्य पर्यटक थप आकर्षित गर्न सकिने उनको बुझाइ छ। तिम्सिना भन्छन्, “त्यसका लागि स्थानीय, प्रदेश र संघीय सरकारले वन्यजन्तुको वासस्थान जोगाउन लगानी गर्नुपर्छ।”
अर्नाको राजधानी
कोसी टप्पुको अर्को ठूलो पहिचान अर्ना हो। सप्तकोसी नदीले बनाएको टापु र सिमसार क्षेत्र वन्यजन्तुका लागि महत्त्वपूर्ण वासस्थान मानिन्छ।
नेपालमा रैथाने अर्ना अर्थात् जंगली भैँसी पाइने यो एक मात्र संरक्षित क्षेत्र हो। त्यसैले कोसी टप्पु ‘अर्नाको राजधानी’ का रूपमा चिनिन्छ।
राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागका अनुसार आरक्ष स्थापना गर्नुको मुख्य उद्देश्य विश्वमै अतिदुर्लभ मानिने अर्नाको संरक्षण र संख्या वृद्धि गर्नु हो। आरक्षका विभिन्न स्थानमा अर्ना अवलोकनका लागि ‘भ्यु पोइन्ट’ बनाइएका छन्।
अर्ना गणना २०७८ अनुसार कोसी टप्पुमा ४९८ अर्ना थिए। तीमध्ये २२१ वयस्क भाले, १६२ वयस्क पोथी, ४८ अर्धवयस्क, दुई वर्षका ३५ बच्चा र एक वर्षका ३२ बच्चा थिए। घाँसे मैदान, पर्याप्त पानी र सिमसार क्षेत्रका कारण कोसी टप्पु अर्नाका लागि उपयुक्त वासस्थान मानिन्छ।

कोसी टप्पु वन्यजन्तु आरक्षभित्र देखिएका चरा र अर्ना। तस्बिर सौजन्य : दृष्टान्त बिडारी
आरक्षमा अर्ना मात्र होइन, हरिण, नीलगाई, बँदेल, अजिंगर, गोही, डल्फिनलगायत वन्यजन्तु पनि पाइन्छन्। तर, कोसी टप्पुको मुख्य पहिचान चरा र अर्ना नै हुन्। यी दुई पहिचानलाई व्यवस्थित रूपमा ब्रान्डिङ गर्न सके आरक्षलाई पूर्वी नेपालको प्रमुख वन्यजन्तु पर्यटन गन्तव्य बनाउन सकिने सरोकारवालाको भनाइ छ।
विराटनगरस्थित डिग्री क्याम्पसका प्राणीशास्त्रका उपप्राध्यापक रामचन्द्र अधिकारी कोसी प्रदेश वन्यजन्तु पर्यटनका दृष्टिले अत्यन्त धनी रहेको बताउँछन्। तर, यहाँका विशिष्ट वन्यजन्तु, तिनका वासस्थान र पर्यटन सम्भावनाबारे अझै पर्याप्त अध्ययन हुन नसकेको उनको भनाइ छ। “सरकारले पहिला यहाँका दुर्लभ वन्यजन्तुको पहिचान र अनुसन्धानमा लगानी गर्नुपर्छ,” अधिकारी भन्छन्, “त्यसो हुन सके विश्वभरका पर्यटकलाई आकर्षित गर्न सकिन्छ।”
उनका अनुसार कोसी प्रदेशको वन्यजन्तु पर्यटन कोसी टप्पुमै मात्र सीमित छैन। “इलामको उच्च पहाडी भेगदेखि सगरमाथा राष्ट्रिय निकुञ्जसम्म रेड पान्डा पाइन्छ। त्यस्तै, नेपालमा अन्यत्र कतै नपाइने अर्ना कोसी टप्पुमा मात्र पाइन्छ,” उनी भन्छन्, “यी विशिष्ट वन्यजन्तु नै कोसी प्रदेशको पर्यटनका मुख्य आधार हुन्।”

विश्व हात्ती दिवसको अवसरमा कोसी टप्पु वन्यजन्तु आरक्षभित्र हात्तीलाई खानेकुरा खुवाइँदै। तस्बिर : सामाजिक सञ्जाल
भारतीय बजारको सम्भावना
कोसी टप्पुलाई भारतीय पर्यटकसँग जोड्ने सम्भावना बलियो देखेर प्रदेश सरकारले नेपाल-भारत सीमा क्षेत्र कोसी गाउँपालिका–८, भन्टाबारीबाट भारतीय पर्यटकका लागि प्रवेश सहजीकरण सुरु गरेको छ।
प्रदेश सरकारले पछिल्लो समय भारतीय पर्यटकलाई आकर्षित गर्न उनीहरूको गाडीलाई स्टिकर दिने व्यवस्था पनि गरिएको छ।
पर्यटन व्यवसायी पुण्यप्रसाद भट्टराईको दृष्टिमा कोसी टप्पु वन्यजन्तु पर्यटनको हब बन्न सक्ने क्षेत्र हो। उनका अनुसार छिमेकी भारतीय राज्य बिहारका पर्यटकका लागि कोसी टप्पु नजिकको उत्कृष्ट गन्तव्य बन्न सक्छ। “बिहारमा ठूला जंगल र निकुञ्ज छैनन्,” भट्टराई भन्छन्, “त्यसैले बिहारका पर्यटकका लागि कोसी टप्पु सबैभन्दा नजिकको र उत्कृष्ट गन्तव्य हो। हामीले चरा र अर्नालाई ब्रान्डिङ गरेर लैजान सक्नुपर्छ।”

पुण्यप्रसाद भट्टराई।
तर, सम्भावना भए पनि प्रचार र पूर्वाधार कमजोर रहेको उनको भनाइ छ। “हामीले यस्तो दुर्लभ सम्पदाको बजारीकरण गर्नै सकेका छैनौँ,” उनी भन्छन्, “कोसी टप्पुमा अब चरा हेर्ने मात्र होइन, व्यवस्थित जंगल सफारी, डुंगा सयर र प्रकृति पदयात्रा जस्ता गतिविधि थप्नुपर्छ।”
सरकारले भारतीय पर्यटकलाई लक्षित गरी ‘कोसी-बिहार’ र ‘कोसी-बंगाल’ जस्ता प्रवर्द्धनात्मक कार्यक्रम निरन्तर सञ्चालन गरिरहेको कोसी प्रदेशका पर्यटन, वन तथा वातावरणमन्त्री भीम पराजुली बताउँछन्। कार्यक्रमले सीमावर्ती भारतीय क्षेत्रका पर्यटकमा सकारात्मक सन्देश गएको उनको दाबी छ।

भीम पराजुली।
उनका अनुसार संघीय सरकारसँगको समन्वयमा सूचना केन्द्र स्थापना गर्ने तयारी पनि भइरहेको छ। त्यस्तै, पर्यटन बोर्डको कार्यालय स्थापनाका लागि पहल भइरहेको र संघीय सरकारबाट प्रतिबद्धतासमेत प्राप्त भएको उनको भनाइ छ। भन्छन्, “कोसी प्रदेशमा भारतीय पर्यटकको आगमन सकारात्मक छ। यसलाई अझ व्यवस्थित बनाउन मन्त्रालयले थप गृहकार्य गरिरहेको छ।”
सजिलो पहुँच, थप सुविधाको खाँचो
कोसी टप्पु पुग्न कठिन छैन। विराटनगरबाट करिब ५० किलोमिटर उत्तर-पश्चिम र धरानबाट करिब ४० किलोमिटर पश्चिम-दक्षिणमा रहेको आरक्षसम्म पुग्न यातायातका साधन सजिलै पाइन्छन्।
पूर्व-पश्चिम राजमार्गको लौकही नजिकैको जमुनाहबाट करिब दुई किलोमिटर उत्तर लागेपछि आरक्ष क्षेत्र पुगिन्छ। इटहरी र इनरुवाबीच पर्ने झुम्का हुँदै तथा धरानबाट चतरा भएर पनि कोसी टप्पु जान सकिन्छ।
आरक्षले नेपालीका लागि प्रतिव्यक्ति १०० रुपैयाँ, सार्क मुलुकका नागरिकका लागि ७५० रुपैयाँ र अन्य विदेशीका लागि एक हजार ५०० रुपैयाँ प्रवेश शुल्क तोकेको छ। सवारीसाधन लिएर प्रवेश गर्दा प्रतिदिन ३०० रुपैयाँ शुल्क लाग्छ। ठूला सवारीसाधनलाई भने आरक्षले प्रवेश अनुमति दिँदैन। मोटरसाइकल लिएर जाँदा हर्न पूर्ण रूपमा निषेध गरिएको छ।
आरक्ष क्षेत्रमा पुगेपछि ठाउँ ठाउँमा बनाइएका भ्यु टावरबाट वन्यजन्तु, हरियाली र कोसीको सिमसार क्षेत्रको अवलोकन गर्न सकिन्छ।
१७५ वर्गकिलोमिटर क्षेत्रमा फैलिएको कोसी टप्पु सन् १९८७ मा रामसार (अन्तर्राष्ट्रिय महत्त्व पाएको विशिष्ट सिमसार क्षेत्र) सूचीमा सूचीकृत नेपालकै पहिलो क्षेत्र हो। पोखरी, ताल, धाप, कुण्ड र जलाशयले भरिएको सिमसार प्रणालीले कोसी टप्पुलाई अर्ना, चरा, घडियाल, मगर गोही, सर्प, कछुवा, गँगटा र विभिन्न प्रजातिका माछाको घर बनाएको छ।
आन्तरिक पर्यटकको बढ्दो चहलपहल, चरा र अर्नाको विशिष्ट पहिचान, भारतीय बजारसँगको निकटता र स्थानीय होमस्टेको प्रयोगले कोसी टप्पुमा वन्यजन्तु पर्यटनको राम्रो सम्भावना देखिएको छ। त्यसका लागि पूर्वाधार निर्माणमा ध्यान दिनुपर्ने देख्छिन् विराटनगरबाट आरक्ष घुम्न पुगेकी मैया खड्का।
कोरोना महामारीपछि कोसी टप्पुमा हात्ती सफारी बन्द छ। जिप सफारीको सुविधा पनि छैन। त्यस्ता सेवा भए आन्तरिक र बाह्य दुवै पर्यटकलाई आरक्षले अझ बढी आकर्षण गर्न सक्ने खड्का ठान्छिन्। कोसी टप्पुलाई संरक्षणमैत्री, व्यवस्थित र स्थानीय समुदायलाई लाभ दिने वन्यजन्तु पर्यटनमा बदल्न राज्यले विशेष योजना ल्याउनुपर्नेमा उनको जोड छ।
“यहाँ जिप सफारी छैन। त्यसैले घुम्न केही गाह्रो हुन्छ। यसैले पनि कोसी टप्पुमा चितवन राष्ट्रिय निकुञ्जमा जस्तो आकर्षण छैन,” उनी भन्छिन्, “हात्ती सफारीलाई अझ व्यवस्थित बनाउन सके यहाँ पर्यटकको ताँती लाग्थ्यो होला। राज्यले यस्तो सुन्दर ठाउँको विकासमा अझै ध्यान दिनुपर्छ।”