काठमाडौँ। वैदेशिक रोजगारीका लागि यूएई पठाइदिने भन्दै ठगी गरेको आरोपमा एकजना पक्राउ परेका छन्।
पक्राउ पर्नेमा काठमाडौँ चन्द्रागिरि नगरपालिका ८ का ४१ वर्षीय रामदास महर्जन छन्। उनलाई काठमाडौँ महानगरपालिका १४ बाट आइतबार पक्राउ गरिएको काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयले जनाएको छ।
महर्जनले यूएई पठाउने बहानामा सात जनाबाट ४५ लाख रुपैयाँ संकलन गरेका थिए। तर रकम लिएर लामो समय फरार भएपछि पीडित प्रहरी सम्पर्कमा आएको कार्यालयका प्रवक्ता प्रहरी उपरीक्षक रामेश्वर कार्कीले बताए।
यसैगरी प्रहरीले धादिङ छत्रेदेउराली घर भई अहिले काठमाडौँ महानगरपालिका १६ बस्दै आएकी ३४ वर्षीया सन्तोषी लामालाई पक्राउ गरेको छ। स्पेन पठाउने भन्दै उनले एक जनाबाट १५ लाख रुपैयाँ लिएको प्रहरीले जनाएको छ।
यस्तै बैंकिङ कसुर मुद्दामा फरार भएका विराटनगर महानगरपालिका १० का मणि निरौलालाई पनि प्रहरीले पक्राउ गरेको छ। प्रहरी वृत्त सिंहदरबारमा दर्ता रहेको २५ लाख रुपैयाँ बैंकिङ कसुर मुद्दाका प्रतिवादी निरौलालाई काठमाडौँ महानगरपालिका १२ बाट पक्राउ गरिएको प्रहरीले जनाएको छ। उनीविरुद्ध १७ लाख रुपैयाँ ठगी गरेको वैदेशिक रोजगार कसुरको अर्को मुद्दासमेत छ।