काठमाडौँ
००:००:००
१६ असार २०८३, मंगलवार

१६ असार २०८३
अ+
अ-

वारसा। बढ्दो रूसी सुरक्षा चुनौतीलाई मध्यनजर गर्दै पोल्याण्डले स्वीडेनबाट अत्याधुनिक पनडुब्बी खरिद गर्न चार दशमलव आठ अर्ब अमेरिकी डलर बराबरको सम्झौतामा हस्ताक्षर गरेको छ।

सोमबार बाल्टिक सागरस्थित ग्दान्स्क बन्दरगाहमा सम्पन्न सम्झौताअनुसार पोल्याण्डले पाँचौँ पुस्ताका तीनवटा ‘ए–२६’ वर्गका पनडुब्बी प्राप्त गर्नेछ। पोल्याण्डका रक्षामन्त्री व्लादिस्लाव कोसिनियाक–कामिस्जले ती पनडुब्बी बाल्टिक सागरमा प्रभावकारी सञ्चालनका लागि विशेष रूपमा डिजाइन गरिएको र नौसेना तथा विशेष बलको क्षमता अभिवृद्धिमा उपयोगी हुने बताए।

सम्झौतामा पोल्याण्डका प्रधानमन्त्री डोनाल्ड टस्क र स्वीडेनका प्रधानमन्त्री उल्फ क्रिस्टरसनले हस्ताक्षर गरे।

स्वीडिस रक्षा कम्पनी साबका अनुसार सम्झौतामा पनडुब्बीसँगै तालिम, प्राविधिक सहयोग तथा सञ्चालन समर्थनसम्बन्धी कार्यक्रम पनि समावेश छन्।

सम्झौताअनुसार पहिलो पनडुब्बी सन् २०३१ मा पोल्याण्डलाई हस्तान्तरण गरिनेछ भने अन्तिम पनडुब्बी सन् २०३८ सम्म उपलब्ध गराइनेछ। यसबीच स्वीडेनले पोलिश नाविकलाई तालिम दिन आगामी वर्षदेखि आफ्नो आधुनिक ‘ए–१७’ वर्गको पनडुब्बी अस्थायी रूपमा उपलब्ध गराउनेछ।

‘ओर्का’ नाम दिइएको पोल्याण्डको पनडुब्बी आधुनिकीकरण कार्यक्रम पोलिश नौसेनाको प्रमुख प्राथमिकतामध्ये एक हो। हाल पोल्याण्डसँग सन् १९८५ मा तत्कालीन सोभियत सङ्घमा निर्मित एउटा मात्र पुरानो पनडुब्बी सञ्चालनमा रहेको छ।

सम्झौतामा औद्योगिक सहकार्य, रसद सहयोग, सञ्चालन समर्थन, आवश्यक पूर्वाधार निर्माण तथा पोलिश शिपयार्डमा निर्माण हुने उद्धार जहाज स्वीडेनले खरिद गर्ने व्यवस्था पनि समावेश गरिएको छ।

स्वीडेनका प्रधानमन्त्री क्रिस्टरसनले यस सम्झौताले दुवै देशबीचको रक्षा सहकार्यमा ऐतिहासिक उपलब्धि हासिल गरेको उल्लेख गर्दै यसबाट पोल्याण्डमा करिब सात हजार रोजगारी सिर्जना हुने तथा स्वीडेनमा पनि उल्लेखनीय रोजगारी थपिने बताए।

पोल्याण्डले जर्मनी, स्पेन, इटाली, दक्षिण कोरिया तथा फ्रान्सको नेभल ग्रुपलगायतका प्रस्तावलाई अस्वीकार गर्दै स्वीडिस कम्पनी साबलाई पनडुब्बी आपूर्तिकर्ताका रूपमा छनोट गरेको हो।