काठमाडौँ
००:००:००
१६ असार २०८३, मंगलवार

१६ असार २०८३
अ+
अ-

काठमाडौँ। काठमाडौँस्थित भारतीय राजदूतावासले ‘इन्डियन एम्बासेडर्स क्रिकेट टुर्नामेन्ट’को दोस्रो संस्करण सम्पन्न गरेको छ।

१२ देखि १४ असारसम्म त्रिभुवन विश्वविद्यालय क्रिकेट मैदान र मूलपानी क्रिकेट रंगशालामा टुर्नामेन्ट भएको हो। प्रतियोगितामा भारतीय राजदूतावास, नेपालको परराष्ट्र मन्त्रालय, काठमाडौँस्थित कूटनीतिक समुदाय, नेपाली सञ्चारमाध्यम, पूर्वक्रिकेट खेलाडी, नेपाल सरकारका अधिकारी, कर्पोरेट क्षेत्र तथा नेपालमा रहेका भारतीय प्रवासी (आईसीएएन) का प्रतिनिधित्व गर्ने आठ टोली सहभागी थिए।

उद्घाटन समारोहमा नेपालका लागि भारतीय राजदूत नवीन श्रीवास्तव तथा परराष्ट्र मन्त्रालयका सहसचिव गेहेन्द्र राजभण्डारीलगायत कूटनीतिक प्रतिनिधि सहभागी थिए। तीन दिन चलेको प्रतिस्पर्धापछि १४ असारमा भारतीय दूतावास र आईसीएएनबीच फाइनल खेल सम्पन्न भई प्रतियोगिता टुंगिएको थियो।

खेलपछि आयोजित कार्यक्रममा विजेता टोली तथा उत्कृष्ट खेलाडीलाई ट्रफी र पुरस्कार प्रदान गरिएको थियो। प्रतियोगिताको सफलताको अवसरमा १५ असारमा विशेष रिसेप्सनसमेत आयोजना गरिएको थियो।

त्यस अवसरमा राजदूत श्रीवास्तवले नेपाल क्रिकेट संघ (क्यान) लगायत आयोजकलाई धन्यवाद व्यक्त गर्दै तीन खेलाडीलाई क्रिकेट किट प्रदान गरेका थिए। क्रिकेट किट यू-१९ महिला क्रिकेट खेलाडी सना प्रवीण, कृष्मा गुरुङ र सावित्री धामीलाई प्रदान गरिएको दूतावासले विज्ञप्तिमार्फत जनाएको छ। उनले आगामी आईसीसी यू-१९ महिला टी-२० विश्वकपका लागि शुभकामना पनि दिएका थिए।

प्रतियोगिताले खेलकुदमार्फत नेपाल-भारतबीचको जनस्तरको सम्बन्ध सुदृढ बनाउने र युवा प्रतिभा विकासमा सहयोग गर्ने उद्देश्य प्रतिबिम्बित गरेको बताइएको छ।