काठमाडौँ
००:००:००
१७ असार २०८३, बुधबार

१७ असार २०८३
अ+
अ-

काठमाडौँ । इरान र इजरायलबीच जारी तनावका बीच कतारको राजधानी दोहामा कूटनीतिक दौडधुप तीव्र बनेको छ । कतारका प्रधानमन्त्री एवं विदेशमन्त्री शेख मोहम्मद बिन अब्दुलरहमान बिन जासिम अल थानीले अमेरिकी विशेष दूतहरू स्टिभ विटकफ र जारेड कुश्नरसँग दोहामा भेटवार्ता गरेका छन्।

इरानी वार्ताकारहरू पनि यतिबेला दोहामै रहेका छन् । तर, अमेरिकी र इरानी पक्षबीच तत्काल कुनै प्रत्यक्ष वार्ताको कार्यतालिका नरहेको बताइएको छ । इरानले युद्धविराम र तनाव न्यूनीकरणका लागि आफ्ना सर्तमा दृढ अडान कायम राखेको छ।

यसैबीच, संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेसले प्यालेस्टाइनी शरणार्थीका लागि काम गर्ने राष्ट्रसंघीय नियोगमा देखिएको १०० मिलियन डलरको वित्तीय अभाव पूर्ति गर्न सदस्य राष्ट्रहरूलाई आग्रह गरेका छन् । कडा खर्च कटौती र मितव्ययिताका उपायहरू अपनाउँदा अपनाउँदै पनि यो संस्था अहिले बन्द हुने अवस्थामा पुगेको महासचिव गुटेरेसले बताएका छन्।

महासचिव गुटेरेसले महासभाको विशेष बैठकलाई सम्बोधन गर्दै भने, “सदस्य राष्ट्रहरूको तत्काल आर्थिक सहयोग र समर्थन बिना यो नियोगले काम अगाडि बढाउन सक्ने अवस्था छैन ।” इजरायलले नियोगमाथि लगाएका आरोपहरू पछि संस्थाले व्यापक सुधारका कदम चालेको र आफ्ना नीतिहरू परिमार्जन गरेको समेत उनले स्पष्ट पारे।

“अस्थिरताको यो युगमा एउटा स्थिरता कायम राख्ने शक्ति हो,” गुटेरेसले भने। उनले भ्रामक प्रचार, दुष्प्रचार, कानुनी अवरोध र कूटनीतिक उल्झन खडा गरेर नियोगलाई कमजोर बनाउन भइरहेका प्रयासको कडा शब्दमा निन्दा गरे।

यो नियोगले गाजा, कब्जा गरिएको वेस्ट बैंक, लेबनान, जोर्डन र सिरियामा रहेका करिब २६ लाख प्यालेस्टाइनीहरूलाई खाद्यान्न सहायता, शिक्षा, स्वास्थ्य, सामाजिक सेवा र आश्रय प्रदान गर्दै आएको छ । इजरायलले उक्त नियोगले प्यालेस्टाइनी सशस्त्र समूहहरूलाई सहयोग गरेको आरोप लगाउँदै आए पनि अहिलेसम्म त्यसको सार्वजनिक रूपमा प्रमाणित हुने कुनै प्रमाण प्रस्तुत गर्न सकेको छैन । नियोगले इजरायलको यो आरोपलाई पूर्ण रूपमा अस्वीकार गर्दै आएको छ।