विश्वकप
हालान्ड जंगलमा दाउरा काट्दै शारीरिक अभ्यास गर्छन्। दैनिक हजारौँ क्यालोरीयुक्त खाना खान्छन्। गाईको मासु मन पराउँछन् । काँचो दूध खान्छन्। उनको बिहानको अलार्ममा च्याम्पियन्स लिगको धुन बज्छ।
उनका लागि यो पहिलो विश्वकप हो। तर, डेब्यु प्रतियोगितामै उनले साबिक विजेता अर्जेन्टिनाका कप्तान लिओनल मेसी र फ्रान्सका कप्तान केलियन एमबाप्पेसँग गोल्डेन बुटको प्रतिस्पर्धामा चुनौती प्रस्तुत गरिरहेका छन्। उनी हुन्, नर्वेका स्ट्राइकर एर्लिङ हालान्डको।
केही समयअघिसम्म हालान्डको परिचय इङ्लिस क्लब म्यानचेस्टर सिटीका घातक स्ट्राइकरका रूपमा सीमित थियो। तर‚ अहिले उनी नर्वेली फुटबलको आशा, आत्मविश्वास र नयाँ पुस्ताको प्रतीकका रूपमा स्थापित भइरहेका छन्। लामो समय विश्व फुटबलको ठूलो मञ्चबाट ओझेल परेको नर्वेलाई पुनः चर्चामा ल्याउने मुख्य पात्र पनि उनी नै बनेका छन्।
हालान्डको उत्कृष्ट प्रदर्शनकै प्रेरणामा नर्वेले २८ वर्षपछि विश्वकपमा पुनरागमन गर्दै अन्तिम १६ मा स्थान सुरक्षित गरेको छ। समूह चरणमा आइभरी कोस्टमाथि २-१ को जितसहित नर्वेले नकआउट चरणको यात्रा तय गर्यो। यसमा ८६औँ मिनेटमा उनले नै निर्णायक गोल गरे। विश्वकप छनोटमा अपराजित रहेको नर्वेले मुख्य प्रतियोगितामा पनि साबिक विजेता फ्रान्ससँग (उक्त खेलमा हालान्डसहित १० मुख्य खेलाडी मैदान उत्रिएका थिएनन्)को हारबाहेक अन्य कुनै खेल गुमाएको छैन।

नर्वेको टोली।
प्रतियोगितामा हालान्डले आफ्नो प्रभावशाली लय कायम राखेका छन्। समूह चरणका दुई खेल र राउन्ड अफ ३२ को एक खेल गरी तीन खेलमा ५ गोल गर्दै उनी टोलीका निर्णायक खेलाडी बने। उनले गोल गर्ने मात्र होइन, महत्त्वपूर्ण क्षणमा टोलीलाई जित दिलाउने भूमिका पनि निर्वाह गरे। सेनेगलविरुद्ध ३-२ मा दुई गोल होस् या आइभरी कोस्टविरुद्ध बराबरी उन्मुख खेलमा २-१ को जित दिलाउन नै किन नहोस्, उनको प्रदर्शन नै नर्वेका लागि निर्णायक बन्यो।
नर्वेका प्रशिक्षक स्टाले सोलबक्केनका अनुसार हालान्डको खुबी गोल गर्नमा मात्र सीमित छैन, उनी टोलीको आत्मविश्वासका आधारस्तम्भ पनि हुन्। उनी भन्छन्, “उनी विश्वकै उत्कृष्ट गोलकर्ता हुन्, यसमा कुनै शंका छैन। आइभरी कोस्टसँगको खेलमा उनी धेरै सक्रिय देखिएनन्, तर पहिलो हाफमा एउटा ठूलो अवसर सिर्जना गरे र पछि निर्णायक गोल पनि गरे। उनी साँच्चै असाधारण खेलाडी हुन्। टोलीमा उनी जस्तो खेलाडी हुँदा आत्मविश्वास र स्थिरता थपिन्छ।”
नर्वे विश्वका सम्पन्न राष्ट्रमध्ये एक हो। तेलबाट आर्जेको अथाह धनले उसलाई आर्थिक रूपमा समृद्ध बनाएको छ। तर, फुटबलमा लामो समयसम्म उसले उल्लेखनीय पहिचान बनाउन सकेन। ब्राजिल कलात्मक खेलका लागि र इङ्ल्यान्ड आफ्नो ऐतिहासिक विरासतका लागि चर्चित भए पनि नर्वेको छुट्टै फुटबल पहिचान भने थिएन।
नर्वेको सबैभन्दा ठूलो उपलब्धि भनेको सन् १९९८ को विश्वकपमा अन्तिम १६ सम्म पुग्नु र सन् २००० को यूईएफए युरोपियन च्याम्पियनसिपमा डेब्यु नै थियो। विश्व फुटबलमा जर्मनी अनुशासनका लागि परिचित थियो।

नर्वेसँग पराजित भएपछि आइभरी कोस्टका खेलाडी।
रोचक संयोग के छ भने, हालान्ड त्यही वर्ष जन्मिएका थिए, जतिबेला नर्वे युरोपियन च्याम्पियनसिपमा स्पेन, एफआर युगोस्लाभिया र स्लोभेनियासँग समूह चरणको प्रतिस्पर्धामा थियो। त्यसपछि नर्वेले विश्वकप र युरोपियन च्याम्पियनसिपका छनोटमा लगातार १२ पटक प्रयास गर्यो। तर‚ स्थान बनाउन सकेन। हालान्डले सिनियर राष्ट्रिय टोलीबाट डेब्यु गरेपछि पनि सुरुआती वर्ष सहज रहेन। उनको उपस्थितिका बाबजुद नर्वेले सन् २०२२ को कतार विश्वकप तथा यूईएफए युरोपियन च्याम्पियनसिप २०२० र २०२४ गुमायो।
तर, राष्ट्रिय टोलीका विभिन्न उमेर समूहबाट उनले आफ्नो असाधारण गोल गर्ने क्षमता सुरुदेखि नै प्रमाणित गरिसकेका थिए। सन् २०१८ मा यू-१९ टोलीबाट स्कटल्यान्डविरुद्ध ह्याट्रिक गरेका हालान्डले सन् २०१९ को फिफा यू-२० विश्वकपमा होन्डुरसविरुद्ध एकै खेलमा नौ गोल गर्दै विश्व कीर्तिमान बनाए। सोही प्रतियोगितामा सर्वाधिक गोलकर्ता बन्दै ‘गोल्डेन बुट’ पनि जिते।
सन् २०१९ मा सिनियर टोलीबाट डेब्यु गरेका उनले सन् २०२० मा पहिलो अन्तर्राष्ट्रिय गोल गरे। त्यसयता उनी नर्वेका सबैभन्दा भरपर्दा गोलकर्ताका रूपमा स्थापित हुँदै गएका छन्। सन् २०२४ मा स्लोभेनियाविरुद्ध गोल गर्दै उनले नर्वेका सर्वकालीन सर्वाधिक गोलकर्ताको कीर्तिमान आफ्नो नाममा लेखाए।
सन् २०२६ विश्वकप छनोटमा त हालान्ड झन् अद्वितीय लयमा देखिए। आठ खेलमा १६ गोल गर्दै उनले नर्वेलाई सन् १९९८ यता पहिलो पटक विश्वकपमा पुर्याउने अभियानको नेतृत्व गरे। इटालीविरुद्धको निर्णायक गोल, मोल्डोभाविरुद्धको ११-१ को फराकिलो जितमा गरेको पाँच गोल र ४६ अन्तर्राष्ट्रिय खेलमै ५० गोल पूरा गर्ने उपलब्धिले उनको प्रभावलाई अझ स्पष्ट बनायो।
सन् २०२६ को विश्वकप हालान्डका लागि पहिलो ठूलो अन्तर्राष्ट्रिय प्रतियोगिता हो। उनी २१ जुलाई २००० मा जन्मिएका थिए, नर्वेले आफ्नो पछिल्लो विश्वकप खेल सन् १९९८ मा इटालीसँग १-० ले गुमाएको करिब दुई वर्षपछि। त्यसैले विश्वकप नर्वेली समर्थकका लागि जति लामो प्रतीक्षा थियो, हालान्डका लागि पनि त्यत्तिकै बन्यो।
व्यावसायिक करिअरको सुरुआतदेखि नै उनले यस्तो राष्ट्रिय टोलीको प्रतिनिधित्व गरे, जसले पटक पटक विश्वकप र युरोपियन च्याम्पियनसिपको छनोटमा आशा जगाए पनि अन्तिम गन्तव्यमा पुग्न सकेन। सन् २०२२ को विश्वकप छनोट अभियान त्यसको सबैभन्दा ठूलो उदाहरण बन्यो। निर्णायक खेलमा चोटका कारण हालान्ड अनुपस्थित हुँदा नर्वेको विश्वकप सपना फेरि अधुरै रह्यो।
तर, यसपटक कथा फरक छ। हालान्ड अन्ततः विश्व फुटबलको सबैभन्दा ठूलो मञ्चमा उत्रिएका छन्। प्रतियोगिता सुरु हुनुअघि नर्वेलाई सम्भावित ‘डार्क हर्स’ टोलीका रूपमा हेरिएको थियो। समूह चरण सकिँदासम्म त्यो अनुमान अझ बलियो बनेको छ। “उनी आफ्नो देशका लागि खेल्न पाउँदा गर्व गर्छन्। नर्वे जस्तो सानो देशको लागि विश्वकपमा तीन खेलमा पाँच गोल गर्नु साँच्चै राम्रो कुरा हो, त्यसको सबै श्रेय उनलाई जान्छ,” प्रशिक्षक सोलबक्केन भन्छन्।

नर्वे अन्तिम १६ मा पुगेपछि फोटो खिचाउँदै हालान्ड।
नर्वेसँग अहिले विश्वकपका शीर्ष गोलकर्तामध्ये एक हालान्ड छन्। मिडफिल्डमा प्रिमियर लिग विजेता आर्सनलका कप्तान मार्टिन ओडेगार्ड छन्। प्रशिक्षक स्टाले सोलबक्केनले नर्वेलाई कुनै एक खेलाडीमा मात्र निर्भर नरहने टोली बनाएका छन्। हालान्ड उनीहरूको सबैभन्दा ठूलो अस्त्र अवश्य हुन्, तर सामूहिक प्रदर्शनले नै नर्वेलाई बलियो टोली बनाएको छ।
समूह चरणको पहिलो खेलमा नर्वेले इराकलाई ४-१ ले पराजित गर्दा हालान्डले दुई गोल गरे। विश्वकपको पहिलो खेलमै दुई गोल गर्दै उनले आफू किन विश्व फुटबलका उत्कृष्ट स्ट्राइकरमध्ये एक मानिन्छन् भन्ने प्रमाण दिए।
दोस्रो खेलमा नर्वेले अफ्रिका कप अफ नेसन्स विजेता सेनेगललाई ३-२ ले हरायो। त्यस खेलमा पनि दुई गोल गर्दै हालान्ड जितका मुख्य नायक बने। अन्तिम समयमा सेनेगलले एक गोल फर्काएर अन्तर घटाए पनि नर्वेले महत्त्वपूर्ण तीन अंक सुरक्षित गर्यो। लगातार दुई खेलमा दुई दुई गोल गरेपछि उनले विश्वकपका पहिलो तीन खेलमै गोल गर्ने पहिलो नर्वेजियन खेलाडी बन्ने इतिहास पनि रचे।
समूह चरणको अन्तिम खेलमा भने प्रशिक्षक स्टाले सोलबक्केनले नकआउट चरणलाई ध्यानमा राख्दै हालान्ड र ओडेगार्डलाई विश्राम दिए। नर्वे त्यस खेलमा साबिक विजेता फ्रान्ससँग ४-१ ले पराजित भयो। यद्यपि, पहिलो दुई खेलमा हालान्डले देखाएको प्रभाव र नर्वेको समग्र प्रदर्शनले टोली एक खेलअगावै अन्तिम ३२ मा पुगिसकेको थियो।
हालान्डको यात्रा राजधानी ओस्लोबाट सुरु भएको होइन। उनी ब्राइन नामको सानो ग्रामीण बस्तीबाट आएका हुन्। त्यहाँ उत्कृष्ट प्रदर्शन गर्ने खेलाडीले महँगो पुरस्कार होइन, कहिलेकाहीँ अन्डा वा भेडाको मासु उपहार पाउँछन्। समर्थकहरू ट्र्याक्टर चढेर खेल हेर्न पुग्नु त्यहाँको जीवनशैलीको सामान्य दृश्य हो।
यही परिवेशबाट हुर्किएका हालान्ड अहिले विश्वकै महँगा र चर्चित फुटबलरमध्ये एक भएका छन्। तर, उनले आफ्नो जरा बिर्सिएका छैनन्। उनी अहिले पनि गाउँ फर्किन्छन्, स्थानीय पसलमा किनमेल गर्छन्, आफ्नै ग्रामीण उच्चारणमा बोल्छन् र आफूलाई सामान्य मानिसकै रूपमा देखाउन रुचाउँछन्।
नर्वेजियन संस्कृतिमा यसलाई ‘फोल्केलिग’ भनिन्छ, जसको अर्थ आममानिससँग जोडिएर रहनु हो। अग्लो कद, सुनौलो लामो कपाल, कठोर प्रशिक्षण र संयमित स्वभावले उनलाई आधुनिक फुटबलका स्टारमध्ये अलग पहिचान दिएको छ।
हालान्डको जीवनशैली अच्चमको छ। उनी जंगलमा दाउरा काट्दै शारीरिक अभ्यास गर्छन्। दैनिक हजारौँ क्यालोरीयुक्त खाना खान्छन्। गाईको मासु मन पराउँछन् र प्रशिक्षणपछि काँचो दूध पिउने बानी रहेको बताइन्छ। यी सबै पक्षले उनलाई आधुनिक युगका ‘भाइकिङ योद्धा’ झैँ देखाउँछन्।
तर, हालान्डको सबैभन्दा ठूलो शक्ति उनको शारीरिक बनावट होइन, मानसिक दृढता हो। उनले एक पटक भनेका थिए, ‘म सधैँ फुटबलबारे सोचिरहन्छु।’ उनको बिहानको अलार्ममै च्याम्पियन्स लिगको धुन बज्छ।
विश्वकपमा पनि त्यही समर्पणको प्रतिफल देखिएको छ। गोल्डेन बुटको दौडमा मेसी र एमबाप्पे समान ६ गोलसहित शीर्ष स्थानमा छन्। आफ्नो सम्भावित अन्तिम विश्वकप खेलिरहेका मेसीलाई हालान्ड पाँच गोलसहित पछ्याइरहेका छन्। उनीभन्दा पछाडि ब्राजिलका भिनिसियस जुनियर र फ्रान्सका उस्मान डेम्बेलेले छन्। यी दुईको नाममा समान चार-चार गोल छन्।
हालान्ड र नर्वेको अर्को चुनौती क्वार्टरफाइनल प्रवेशका लागि ब्राजिलविरुद्ध हुनेछ। ब्राजिलका स्टार जुनियरको सानदार प्रदर्शनमा रहेको टोलीविरुद्ध नर्वेले कठिन परीक्षा सामना गर्नेछ। उत्कृष्ट लयमा रहेका हालान्ड आफैँ भने आफ्नो टोलीलाई जितको दाबेदार मान्दैनन्।
“अहिले सम्पूर्ण नर्वे राष्ट्रिय टोलीको सफलताले उत्साहित छ। समर्थकहरूको यो साथले हामीलाई थप ऊर्जा दिएको छ। तर, अगाडि बढ्ने हाम्रो सम्भावना निकै कम छ,” उनी भन्छन्।
इतिहासले भने नर्वेलाई केही आशा दिने आधार दिएको छ। दुई टोलीबीच भएका अघिल्ला चार भेटमा ब्राजिलले नर्वेलाई पराजित गर्न सकेको छैन। तर, हालान्ड विगतको तथ्यांकभन्दा वर्तमान प्रदर्शनले नै बढी महत्त्व राख्ने बताउँछन्। त्यसैले उनी इतिहास दोहोर्याउनभन्दा पनि मैदानमा उत्कृष्ट प्रदर्शन गर्न केन्द्रित देखिन्छन्।