काठमाडौँ। उच्च शिक्षाको अध्ययन पुरा गरेपछि चितवन, राप्ती नगरपालिका-११, कोराक जिमलिङका विश्वास चेपाङको सपना थियो, गाउँमा ज्ञान केन्द्र निर्माण गरेर समुदायको मौलिक ज्ञान, संस्कृति, परम्परा तथा जीवनशैलीको संरक्षण, प्रवर्द्धन र पुस्तान्तरण गर्ने।
हालै आफ्नै गाउँमा ज्ञान केन्द्रको भवन निर्माण गर्न सफल भएपछि उनको सपनाले सार्थक रुप लिन थालेको छ। उनैले दानको गरेको एक कठ्ठा जग्गामा निर्मित भवन १६ असारमा उद्घाटन गरिएको छ। केन्द्रलाई चेपाङ केन्द्रित अध्ययन तथा अनुसन्धानको थलोका रुपमा विकास गर्ने लक्ष्य रहेको चेपाङ बताउँछन्।
“मैले देशविदेशका कार्यक्रम, सभा, सम्मेलनमा भाग लिदैगर्दा, आफ्नो समुदायको प्रतिनिधित्व गरेर बोल्दै गर्दा संस्थागत ज्ञान केन्द्रको आवश्यकता महसुस गर्थे,” उनी भन्छन्, “हाम्रो समुदायका बालबालिका पढ्न जानलाई अझै पनि घण्टौको पैदल यात्रा गर्नुपर्छ, टाढा जान नसक्ने भएर कतिले पढाइ बीचैमा छोड्न बाध्य छन्, ज्ञान केन्द्र उनीहरुलाई सिकाउने थलो बन्छ।”

‘नमस्ते नेपाल बेल्जियम’ संस्थाको आर्थिक सहयोगमा करिब १४ लाख लागतमा निर्माण गरिएको केन्द्रको भवन तीन कोठाको छ। एउटा सभाहल र दुई वटा कोठा कार्यालय प्रयोजनमा प्रयोग हुनेछन्। केन्द्रको वरिपरि चिउरीको विरुवा रोपिएको छ। भवनको रंगरोगन, शौचालय र खानेपानीका लागि धाराको व्यवस्था गर्न भने बाँकी छ। “हामीलाई सहयोग प्राप्त बजेटबाट भवन बनाउन ठिक्क भयो, अब रंगरोगन, शौचालय र खानेपानीका लागि थप बजेटको आवश्यकता छ,” उनी भन्छन्।
केन्द्रलाई अध्ययन र अनुसन्धानको बनाइने लक्ष्य राखेको उनले बताए। “चेपाङको प्रथाजनित अभ्यास, पान्दे प्रथा, चिउरीको ज्ञान, चिउरी र चमेरोसँगको सम्बन्धजस्ता विषयलाई संरक्षण गर्ने, भाषा तथा सांस्कृतिक सम्पदाको प्रवद्र्धन गर्ने तथा चेपाङ भाषा, वनमा आधारित परम्परागत जीविकोपार्जन प्रणाली, सांस्कृतिक अभ्यास तथा आध्यात्मिक परम्पराहरुको अभिलेखीकरण, संरक्षण र पुनर्जीवनमा योगदान पुर्याउने लक्ष्य छन्,” चेपाङले बताए।

उनका अनुसार सामाजिक विकास, ग्रामिण विकास, मानवशास्त्रका विद्यार्थीलाई हप्तौ, महिनौ बसेर समुदायको बारेमा बुझ्ने अवसर जुटाइनेछ।
“केन्द्रले पुस्तान्तरणीय सिकाइका लागि साझा थलोको रुपमा काम गर्छ,” उनी भन्छन्,“जेष्ठ नागरिकहरुबाट मौखिक इतिहास, परम्परागत पारिस्थितिक ज्ञान, जीवनपद्धति र सांस्कृतिक अभ्यासहरु नयाँ पुस्तामा हस्तान्तरण गरिनेछ।” यसबाट चेपाङ समुदायका नयाँ पुस्तालाई मौलिक तथा परम्परागत ज्ञान हस्तान्तरणमा सहज हुने उनी बताउँछन्।
यस केन्द्रबाट दुई हजारभन्दा बढि चेपाङ समुदायले लाभ लिन सक्नेछन्।

गरिबी र अभावको भुग्रोमा हुर्किएका विश्वासको बाल्यकाल पनि आम चेपाङ बालबालिकाको भन्दा फरक थिएन। विभिन्न संघसंस्था र छात्रवृतिको अवसर पाएर उनले उच्च शिक्षा हासिल गरे। बेलायतबाट स्नातकोत्तर गरेका उनी हाल एमफिल पढ्दैछन्। अति सिमान्तकृत आदिवासी जनजातिमा पर्ने चेपाङ समुदायको उत्थान र शसक्तिकरणका लागि काम गर्दै आएका ३४ वर्षका विश्वास अहिले आफ्नो समुदायको आदर्श बनेका छन्।