विराटनगर । सीमा क्षेत्रबाट हुने चोरी तस्करी र राजस्व चुहावटको वस्तुस्थिति बुझ्न गृहमन्त्री सुधन गुरुङ सुरक्षा निकायलाई पूर्वजानकारी नदिईकनै कोशी प्रदेशको आकस्मिक अनुगमनमा निस्किएका छन् ।
शुक्रबार साँझ उनी अप्रत्याशित रूपमा सीमा नाकाहरूको ‘छड्के’ निरीक्षणमा आइपुगेपछि प्रदेशको सुरक्षा संयन्त्रमा दौडादौड मच्चिएको छ ।
खुला सीमाको फाइदा उठाउँदै अवैध रूपमा भइरहेको तस्करी र त्यसमा सुरक्षाकर्मीको भूमिकाबारे जनगुनासो बढेपछि गृहमन्त्री आफैं मैदानमा उत्रिएका हुन् । सुरक्षा निकायका माथिल्लो तहका अधिकारीहरूलाई समेत पत्तो नदिई उनी कोशीका तराईका जिल्लाहरूमा केन्द्रित भएका छन् ।
केही दिनअघि मात्रै मधेश प्रदेशको पर्सा पुगेर सीमा नाकाको निरीक्षण गरेका मन्त्री गुरुङ शुक्रबार साझमा सुनसरीका विभिन्न नाकाहरू पुगेका थिए । सुनसरीको वस्तुस्थिति बुझेर उनी मोरङ छिर्ने तयारीमा छन् । मन्त्रीको यो ‘सरप्राइज भिजिट’ ले सीमा सुरक्षामा खटिएका अधिकारी र प्रशासनिक निकायलाई ‘हाइ अलर्ट’ मा राखेको छ ।
सुरक्षा स्रोतका अनुसार गृहमन्त्रीले मोरङको विराटनगरस्थित दक्षिणी सीमा क्षेत्र (जोगबनी नाका) र आसपासका अन्य साना नाकाहरूको समेत स्थलगत निरीक्षण गर्ने योजना बनाएका छन् ।
नाकामा खटिएका सुरक्षाकर्मीको कार्यशैली, सीमा सुरक्षाको अवस्था र तस्करी नियन्त्रणमा भइरहेको प्रयासबारे उनले प्रत्यक्ष रिपोर्टिङ लिने बुझिएको छ ।
गृहमन्त्रीको यो अप्रत्याशित उपस्थितिले जिल्ला प्रशासन र प्रहरी प्रशासनमा खैलाबैला मच्चाएको छ । मोरङका प्रमुख जिल्ला अधिकारी युवराज कट्टेलले गृहमन्त्री प्रदेशमा आएको जानकारी पाए पनि उनको यकिन लोकेसनबारे प्रशासन बेखबर रहेको बताए । ‘गृहमन्त्रीज्यू आउनुभएको कुरा थाहा छ, तर अहिलेसम्म कहाँ हुनुहुन्छ र कुन–कुन ठाउँको निरीक्षण गर्नुहुन्छ भन्ने औपचारिक जानकारी छैन,’ कट्टेलले भने ।
मन्त्री गुरुङले तस्करी नियन्त्रणमा शून्य सहनशीलता अपनाउन निर्देशन दिँदै आएका छन् । सुरक्षा निकायलाई नै गुमराहमा राखेर गरिएको यो अनुगमनले कर्तव्य पालनामा लापरबाही गर्ने सुरक्षाकर्मीहरूमाथि कडा एक्सन लिने संकेत देखिएको छ ।