काठमाडौँ
००:००:००
१९ असार २०८३, शुक्रबार

१९ असार २०८३
अ+
अ-

काठमाडौँ। भारतबाट नेपालमा ब्राउनसुगर आपूर्ति गर्ने गिरोहलाई पक्राउ गर्ने क्रममा प्रहरीले सिरहामा गोली चलाएको छ। शुक्रबार लागुऔषध नियन्त्रण ब्युरो सिरहा शाखा र इलाका प्रहरी कार्यालय महेशपुरको टोलीले गोली प्रहार गरी एक जनालाई पक्राउ गरेको हो।

ब्युरोका अनुसार नवराजपुर गाउँपालिका-५ मा गोली प्रहार गरी भारत बिहार मधुवनीका ३५ वर्षीय अब्दुल कलामलाई पक्राउ गरिएको छ। उनको बायाँ खुट्टामा एक गोली लागेको ब्युरोका प्रहरी उपरीक्षक दुर्गाराज रेग्मीले बताए।

रेग्मीका अनुसार त्यहाँ चार जना कारोबारी ब्राउनसुगर कारोबारमा सक्रिय थिए। पक्राउ गर्ने क्रममा कलामले कटुवा पेस्तोलबाट प्रहरीमाथि एक राउन्ड गोली प्रहार गरेका थिए।

“नियन्त्रणमा लिन खोज्दा गिरोहका सदस्य कलामले प्रहरीमाथि गोली प्रहार गरे,” रेग्मीले भने, “त्यसपछि प्रहरीले दुई राउन्ड हवाई फायर गर्‍यो।” हवाई फायर गर्दासमेत अटेर गरेपछि प्रहरीले कलामको खुट्टामा गोली हानेको रेग्मीले बताए।

कलामको साथबाट ११५ ग्राम २० मिलिग्राम ब्राउनसुगर बरामद भएको रेग्मीले बताए। अन्य तीन जना कारोबारी फरार छन्। उनीहरूको खोजी भइरहेको छ।

कलामले बोकेको कटुवा पेस्तोल र त्यसको दुई राउन्ड गोली बरामद गरिएको रेग्मीले बताए। घाइते रहेका कलामको प्रादेशिक अस्पताल सिरहामा उपचार भइरहेको छ।