काठमाडौँ
००:००:००
१९ असार २०८३, शुक्रबार

१९ असार २०८३
अ+
अ-

काठमाडौँ। काठमाडौँ महानगरपालिकाले बञ्चरेडाँडामा लैजाने फोहरको मात्रा घटाउन १० वटा वडाबाट स्रोतमै फोहर वर्गीकरण व्यवस्थापन थालेको छ।

कामपा वातावरण विभागका प्रमुख सरिता राईले बञ्चरेडाँडा फोहर व्यवस्थापनको आयु बढाउन स्रोतमै फोहरको वर्गीकरण र व्यवस्थापन थालनी गरेको बताइन्।

महानगरपालिकाले वडा नं १२, १८, १९, २०, २१, २२, २३, २४, २५ र २७ मा स्रोतमै फोहर वर्गीकरण व्यवस्थापन अघि बढाएको छ। प्रमुख राईका अनुसार, स्रोतमै फोहर व्यवस्थापनपछि हाल कामपाबाट दैनिक १५ ट्रक मात्रै फोहर बञ्चरेडाँडामा लगिँदै गरिएको छ। यसअघि त्यसरी वर्गीकरण नगर्दा दैनिक २० ट्रकसम्म फोहर पठाइने गरिएको थियो।

महानगरपालिकाभित्र सात क्षेत्रबाट दैनिक रुपमा वर्गीकरण गरिएको फोहर व्यवस्थापन सुरु भएपछि करिब तीन दशमलव १९ मेट्रिक टन फोहर घटेको उनले बताइन्। प्रमुख राईले भनिन्, ‘सहरभित्रको फोहरको स्रोत वर्गीकरण गरी ढुवानीमा सहज तुल्याउन र अन्तिम व्यवस्थापनमा मात्रा घटाउनकै लागि वर्गीकरण गरिएको हो।’

घरेलु फोहरसँगै उत्पादन हुने सुक्खा फोहर बिक्री गर्न पनि महानगरपालिकाले सात क्षेत्र वर्गीकरण गरी वैज्ञानिक विधि अपनाइने जनाएको छ। फोहरमैला सङ्कलन र ढुवानीसम्बन्धी कार्यविधि २०८१ कार्यान्वयनमा ल्याइ वर्गीकरणबाट फोहरको मात्रा घटाउने, पुनःप्रयोग गर्ने र विसर्जन गर्न क्षेत्रगत आधारमा व्यवस्थापन गर्ने कार्य अघि बढाइएको हो।

सार्वजनिक निजी साझेदारी वा निजी क्षेत्रसँग सेवा खरिद गरी वा आय ठेक्काको प्रक्रियाबाट समुदायमा भएको फोहरमैला सङ्कलन र ढुवानी गर्ने कार्यविधि जारी गरिएको थियो।