मुस्ताङ। पूर्वाधार विकासमन्त्री सुनिल लम्साल उत्तर-दक्षिण जोड्ने राष्ट्रिय गौरवको (बेनी-जोमसोम-कोरला) सडक आयोजनाको अनुगमन तथा निरीक्षणका लागि पुगेका छन्।
शुक्रबार बेनी-जोमसोम सडकमार्ग हुँदै मुस्ताङको थासाङ गाउँपालिका–३ लेते बास बसेका मन्त्री लम्सालसँग संस्कृति पर्यटन तथा नागरिक उड्ययनमन्त्री खड्कराज पौडेल (गनेश), मन्त्रालय र विभिन्न विभागका प्रतिनिधि पनि छन्।
कोरला सडकका आयोजना प्रमुख तेजस्वी शर्माका अनुसार कोरला सडकको निरीक्षण तथा पर्यटनलगायतका विषयमा जानकारी लिने उद्देश्यले उनीहरु आएका हुन्।
त्यस अवसरमा पूर्वप्रतिनिधिसभा सदस्य प्रेमप्रसाद तुलाचनको उपस्थितीमा जोमसोम—कोरला सडकमा आवश्यक पर्ने पूर्वाधार निर्माणलगायतका बिषयमा छलफल भएको छ। छलफलमा मन्त्री लम्सालले कोरला सडकखण्डमा पर्ने पाँच वटा सडक पुल निर्माणलाई ठेक्का प्रक्रियामा लैजान निर्देशन दिएका थिए।
आयोजना प्रमुख तेजश्वी शर्माले जोमसोम–कोरला सडकअन्तर्गत जोमसोम–कागबेनी सडकको थप स्तरोन्नति तथा कागबेनी–छुसाङ सडक खण्डमा कालोपत्र निर्माणको प्रगतिबारे मन्त्री लम्साललाई जानकारी गराएका थिए।
सरकारले कोरला सडकअन्तर्गत मुस्ताङको छुसाङदेखि घमीसम्मको ५० किलोमिटर सडक स्तरोन्नति तथा कालोपत्रका लागि रु तीन अर्ब १५ करोड बजेट विनियोजन गरेको छ। कोरला नाकासम्मको सडकको प्रारम्भिक वातावरणीय प्रभाव मूल्याङ्कन सम्पन्न भइसकेकाले नाकासम्मको सडक स्तरोन्नति तथा कालोपत्रको काम शीघ्र अघि बढाउनुपर्ने आवश्यकता रहेको विषयमा मन्त्री लम्सालको ध्यानाकर्षण गराइएको थियो।
मन्त्री लम्सालसहितको टोलीले कोरला सडक आयोजना क्षेत्रका विभिन्न स्थानको स्थलगत अनुगमन तथा निरीक्षण गर्दै सडक, पुलपुलेसा र अन्य पूर्वाधारको अवस्थाबारे स्थानीयसँग जानकारी लिएको छ। स्थानीयले कालिगण्डकी नदीको कटान, बाढी र पहिरोका कारण कोरला सडक, पुलपुलेसा तथा अन्य संरचनामा बर्सेनि क्षति पुग्ने जोखिम रहेको जानकारी गराएका छन्।