काठमाडौँ। नेपालकी विनु जीटीले १६औँ दक्षिण एसियाली शारीरिक सुगठन तथा फिजिक स्पोर्ट्स च्याम्पियनसिपमा दोहोरो पदक जितेकी छन्।
भुटानको थिम्पुमा भएको प्रतियोगिताको अन्तिम दिन शनिबार विनुले महिला स्विमसुटमा स्वर्ण र मोडल फिजिकमा रजत जितेकी हुन्। नेपाल शारीरिक सुगठन तथा फिट्नेस महासंघका सचिव दिनेशकुमार राजभण्डारीका अनुसार अन्तिम दिन नेपालले थप १-१ स्वर्ण र रजत पनि जितेको छ।
पुरुष ८० केजीमा सगेन्द्र सिंहले स्वर्ण जिते। महिला टिम च्याम्पियनसिपमा नेपालले रजत प्राप्त गर्यो। पुरुष ७५ केजीमा दीपजंग रोकामगर पाँचौँ भए।

प्रतियोगतामा नेपालले जम्मा ३ स्वर्ण, ३ रजत र १ कास्य पदक जित्यो। यसअघि पुरुष स्पोर्ट्स फिजिक १७० सेन्टिमिटरमुनि आकाश श्रेष्ठले स्वर्ण, महिला एथलेटिक फिजिकमा सीता खत्रीले रजत र पुरुष स्पोर्ट्स फिजिक १७० सेन्टिमिटरमाथि पुकार शाक्यले कास्य हात पारेका थिए।
दक्षिण एसियाली शारीरिक सुगठनको पहिलो संस्कणदेखि निरन्तर सहभागी नेपालको कुल पदक संख्या १५ स्वर्ण, १९ रजत र २० कास्य पुगेको छ। नेपाली टोली आइतबार स्वदेश फर्कंदै छ।