काठमाडौँ। नेकपा एमालेका अध्यक्ष केपी ओलीले एमालेविरुद्ध बनाइएको देशद्रोहीको भाष्य र घेराबन्दीविरुद्ध डटेर सामाना गर्ने बताएका छन्।
पार्टी कार्यालय च्यासलमा शनिबार आयोजित पार्टी जागरण अभियानको सुरुआत गर्दै ओलीले पाटीविरुद्ध देशद्रोही भाष्य र घेराबन्दी गरेर अलोकप्रिय बनाउन खोजेको दाबी गरे। उनले वर्तमान सरकार चटकको भरमा आएको भन्दै चटककै भरमा जाने टिप्पणीसमेत गरे।
ओलीले सुकुम्बासीहरूलाई धनीपुर्जा वितरण गर्ने अवस्थामा पुगेका बेला अदालतले आयोग नै भंग गरिदिएका कारण काम रोकिएको तर यस विषयलाई जनता र सुकुम्बासीमाझ स्पष्ट रूपमा लैजान नसक्नु आफूहरूको कमजोरी भएको धारणा राखे।
पार्टीभित्र र बाहिर उठ्ने गरेका आलोचनाको जवाफ दिँदै अध्यक्ष ओलीले विगत ५७ वर्षदेखि जेलनेल सहेर पार्टी निर्माणमा लागेको दाबी गरे।
उनले पार्टी नेतृत्वमा रहेकाले आफूले पार्टी सफल हुँदा वा असफल हुँदा दुवै अवस्थामा जिम्मेवारी लिने स्पष्ट पारे। तर पार्टी सफल हुँदा सबैले श्रेय लिने तर अलिकति धक्का खाँदा वा विरोधीहरू एकजुट हुँदा सबै दोष अध्यक्ष एक्लैको टाउकोमा थुपार्ने प्रवृत्ति उपयुक्त नभएको उनको भनाइ छ।
अध्यक्ष ओलीले लोकतन्त्रविरोधी र देशद्रोही कार्यहरू भइरहेको भन्दै समाजमा फैलिएका अन्योल र भ्रमहरू चिर्न नेता तथा कार्यकर्तालाई निर्देशन दिए।