काठमाडौँ। सशस्त्र प्रहरी स्कुल कीर्तिपुरकी लेखापाल सशस्त्र प्रहरी निरीक्षक कल्पना गुरुङ पक्राउ परेकी छन्। जिल्ला प्रहरी परिसर काठमाडौँले शनिबार गुरुङलाई पक्राउ गरेको हो।
आर्थिक हिनामिना गरेको आरोपसहित सशस्त्र प्रहरी बलले पक्राउ गरी कारबाही गर्न परिसरलाई चिठी लेखेको थियो। सोही आधारमा लेखापाल गुरुङलाई पक्राउ गरिएको प्रहरी उपरीक्षक पवनकुमार भट्टराईले बताए।
प्रहरीले उनका साथी लीलाबहादुर लामालाई समेत पक्राउ गरेको छ। सशस्त्र प्रहरी बलको स्कुलको खाताबाट लामाको बैंक खातामा रकम पठाउने गरेको प्रारम्भिक अनुसन्धान प्रहरीको छ।
सशस्त्र प्रहरी कल्याणकारी कोषमा जम्मा हुनुपर्ने रकम गुरुङले आफ्ना साथीको खातामा जम्मा गर्ने गरेको पाइएको छ। करिब ११ करोड रुपैयाँको हिसाब नभेटिएपछि सशस्त्र प्रहरीले आन्तरिक रुपमा छानबिन गरेको थियो।
गुरुङले एम एडभन्चर ट्राभल एण्ड टुर्स,हाम्रो टिकेट प्रालि र एमडी होलिडेज प्रालिको खातामा रकम जम्मा गर्ने गरेको पाइएको प्रहरीले जनाएको छ। गुरुङ त्यहाँ विगत ६ वर्षदेखि कार्यरत् थिइन्।