बेइजिङ। चीनले हिरासतमा रहेका भूमिगत चर्चका संस्थापक पास्टर एज्रा जिनलाई रिहा गरेको छ।
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले चिनियाँ समकक्षी सी जिनपिङ्सँग उक्त मुद्दा उठाएपछि जिनलाई रिहा गरिएको चर्च र परिवारले आइतबार एएफपीलाई पुष्टि गरेका हुन्।
पास्टर एज्रा जिन जायन चर्चका संस्थापक हुन्। यो चीनमा दर्ता नभएका चर्चमध्ये एक हो, जहाँ केही इसाइले सरकारी नियन्त्रणमा रहेका चर्चको सट्टा स्वतन्त्र रूपमा उपासना गर्ने गर्छन्।
जिनलाई अक्टोबर १०मा ‘सूचना सञ्जालको अवैध प्रयोग’ को आरोपमा अन्य चर्च सदस्यसहित पक्राउ गरिएको थियो। उनलाई हिरासतबाट मुक्त गरिएपछि शनिबार लस एन्जलस पुगेको अधिकार समूह चाइनाएडले जनाएको छ।
रिहाइलाई चीनले अमेरिका स्वतन्त्रता दिवसको अवसरमा गरिएको ‘सद्भावना सङ्केत’का रूपमा व्याख्या गरेको बताइएको छ। चर्चका अनुसार, उक्त रिहाइ अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र चिनियाँ राष्ट्रपतिबीचको छलफलको परिणामस्वरूप भएको हो।
पास्टर जिनकी छोरी ग्रेसले आफ्नो बुबाको रिहाइलाई ‘ठूलो चमत्कार’ भन्दै धन्यवाद व्यक्त गरेकी थिइन्। उनले यो घटनाले चीनमा धार्मिक स्वतन्त्रता र दुई देशबीचको सम्बन्धमा सकारात्मक परिवर्तनको सङ्केत दिनसक्ने आशा व्यक्त गरेकी थिइन्।
चीनमा पछिल्ला महिनामा दर्ता नभएका चर्चमाथि निगरानी र कारबाही कडा बनाइएको छ। अधिकारीले विभिन्न स्थानमा चर्चका नेतालाई पक्राउ गर्नुका साथै धार्मिक संरचनामाथि नियन्त्रण बढाएको रिपोर्टमा उल्लेख छ।
सन् २०१८ मा सरकारी दबाबपछि चर्च बन्द भएको थियो भने त्यसपछि यसको गतिविधि मुख्यतः अनलाइनमार्फत सञ्चालन हुँदै आएको थियो।