समाज
विराटनगरमा दाइजो र ऋणको बोझबिना ११ जोडीको सामूहिक विवाह
विराटनगर। मोरङ, उर्लाबारी-७ दुर्गापुरीका अनुप सोरेनको अनुहारमा १५ असारमा बेग्लै चमक थियो। छोरी फूलमणि सोरेनलाई बेहुलीका रूपमा अन्माउँदै गर्दा उनका आँखामा खुसीका आँसु थिए, ओठमा सन्तोषको मुस्कान।
“पहिले दुई छोरीको विवाह गर्दा लिएको ऋण अझै तिरिसकेको छैन,” अनुप भन्छन्, “तर आज फूलमणिलाई अन्माउँदा न ऋणको चिन्ता छ, न त दाइजोको दबाब। छोरीको घरजम त भयो नै, मलाई पनि ठूलो राहत भयो।”
विपन्न परिवारका लागि विवाह खुसीको अवसर मात्र होइन, आर्थिक संकटको पहाड पनि हो। अनुपका अनुसार गाउँघरमा विवाह गर्दा ८-१० लाख रुपैयाँसम्म खर्च लाग्ने अवस्था छ। मजदुरी गरेर जीविका चलाउने परिवारका लागि त्यति रकम जुटाउनु भनेको वर्षौंसम्म ऋणको बोझ बोक्नु हो।

अनुप सोरेन।
“हामी जस्तो मजदुरी गर्नेका लागि लाखौँ रुपैयाँ जुटाउनु भनेको ऋणको खाडलमा भासिनु हो,” उनी भन्छन्, “तर यहाँ न तिलक दिनुपर्यो, न ऋण काढ्नुपर्यो। उल्टै छोरीको घरका लागि चाहिने सरसामान पनि पाइयो। एउटा बाबुका लागि योभन्दा ठूलो राहत अरू के होला?”
१६ असारको दिउँसो ११ बजे विराटनगरको अतिथि सदनभित्रको माहोल उत्साहपूर्ण थियो। हलभित्र लहरै ११ वटा विवाहमण्डप सजाइएका थिए। ती मण्डपलाई नाम दिइएको थियो- ‘राधा मण्डप’।

सामूहिक विवाहमा अनिल दर्जी र फूलमणि सोरेनको जोडी।
त्यही लहरको ११ नम्बर मण्डपमा बसेका थिए झापा शिवसताक्षी-७ का २५ वर्षीय अनिल दर्जी र २३ वर्षीया फूलमणि सोरेन। उनीहरूको विवाह केवल परम्परागत वैवाहिक बन्धन थिएन, वर्षौंदेखिको प्रेम र फरक समुदायबीचको मिलनको उत्सव पनि थियो।

सामूहिक विवाहमा सहभागीहरू।
“हाम्रो प्रेमले आज कानुनी र सामाजिक पूर्णता पायो,” मण्डपमा बसेका बेहुला अनिल भन्छन्, “सामूहिक रूपमा विवाह गर्दा समाजलाई राम्रो सन्देश पनि गएको छ। कम्तीमा विवाहकै नाममा बुबाआमाले ऋणको भारी त बोक्नुपरेन।”
अनिलका अनुसार घरगाउँमा तामझामका साथ विवाह गरिएको भए १५ देखि २० लाख रुपैयाँसम्म खर्च हुन सक्थ्यो। “त्यो खर्च बचत हुँदा अब हाम्रो जीवनको जग बसाल्न मद्दत हुन्छ,” उनी भन्छन्।

जन्तीका लागि सजाइएका सिटी सफारी।
झापाबाट जन्ती आएकी रमिला थापा पनि विवाहको दृश्य देखेर दंग थिइन्। “एक्लै विवाह गर्दा आर्थिक भारले थिचिन्थ्यो,” उनी भन्छिन्, “तर, यहाँ आफ्नै धर्म र संस्कृतिअनुसार बिनातडकभडक विवाह भइरहेको छ। यो समाज बदल्ने नयाँ बाटो हो।”
नयाँ सुरुआत
मण्डप नम्बर ८ मा झापा, कनकाईका २९ वर्षीय मनीष टुडू र मोरङ सुनवर्षीकी २५ वर्षीया शान्ति मुर्मू एकअर्काको हात समातेर बसेका थिए। एक वर्षको प्रेमसम्बन्धलाई उनीहरूले सामूहिक मण्डपमा आएर वैधानिकता दिँदै थिए।
“आफ्नो गोजीको पैसा खर्च नगरी यसरी प्रेमलाई विवाहमा बदल्न पाउँदा खुसी छु,” मनीष भन्छन्, “५-६ लाख रुपैयाँ जोगिनु भविष्यका लागि ठूलो सम्पत्ति हो।”
मण्डप नम्बर ९ मा उर्लाबारीका ३० वर्षीय बुद्धिलाल मुर्मू र सुनवर्षीकी २६ वर्षीया सुनिता मर्डीको दुई वर्ष लामो प्रेमले पनि वैवाहिक रूप पायो। बुद्धिलालको बुझाइमा विवाहलाई फजुल खर्चको माध्यम बनाइनु हुँदैन। उनी भन्छन्, “हामीले यहाँबाट राम्रो कामको सुरुआत गरेका छौँ।”

बुद्धिलाल मुर्मू र सुनिता मर्डीको जोडी।
विवाह सकिएको भोलिपल्टै साहुको ऋण कसरी तिर्ने भन्ने पिरलो हुने समाजमा यस्तो अभ्यासले विपन्न परिवारलाई आत्मनिर्भर बन्न सघाउने सामूहिक विवाहमा सहभागी झापाकी पूजा शिवाकोटी बताउँछिन्।
सारथि बन्यो मञ्च
एकैपटक ११ जोडीलाई जीवनयात्रा गराउने सारथि बनेको थियो- विराटनगरस्थित माहेश्वरी महिला मञ्च। मञ्चले विवाह मात्र गराएन, नवदम्पतीलाई नयाँ घरमा आवश्यक ९९ प्रकारका घरायसी सामग्री पनि उपहारस्वरूप दियो।
विवाह गर्ने जोडीमा फूलमणि सोरेन-अनिल दर्जी, भूमिका ऋषिदेव-पारस कुमार, ललिता हास्दा-राजेश हेमरम, शान्ति मुर्मू-मनीष टुडू, सुनिता मर्डी-बुद्धिलाल मुर्मू, रोषा हेमरम-बब्लु मुर्मू, मीना मुर्मू-वरिसलाल हास्दा, मुन्नी मरन्डी-सनत चौङे, सरिता टुडू-सुकलाल मुर्मू, सनीता किस्कु टुडू-विजय बास्के र मनिता सदा-शेखरकुमार ऋषिदेव थिए।
मञ्चले सुनका गरगहनादेखि दराज, भाँडाकुँडा, ग्यास चुलो, बेड र ओछ्यानसम्मका सामग्री उपलब्ध गराएको थियो। नयाँ घरका लागि आवश्यक आधारभूत सामग्री जोहो गरिदिएपछि नवदम्पती र उनीहरूका परिवार आर्थिक रूपमा पनि ढुक्क देखिन्थे।

११ जोडीलाई उपहारस्वरूप दिन राखिएका ९९ प्रकारका घरायसी सामग्री।
मञ्चकी अध्यक्ष ललिता जाजुका अनुसार कार्यक्रमको उद्देश्य विवाह गराइदिनु मात्र होइन, नवविवाहित जोडीको आर्थिक आधार सुरक्षित गर्नु पनि हो।
“हामीले हरेक बेहुलीका नाममा २१ हजार रुपैयाँको दुईवर्षे मुद्दती बचत गरिदिएका छौँ,” जाजु भन्छिन्, “त्यसको ब्याज उनीहरूले पाउनेछन् र दुई वर्षपछि सावाँ रकम पनि चलाउन पाउनेछन्।”
मञ्चले स्थानीय जनप्रतिनिधि र नेपाल आदिवासी जनजाति महासंघसँग समन्वय गरेर विपन्न परिवारका २० वर्ष उमेर पुगेका युवायुवती छनोट गरेको थियो। नागरिकता र उमेरको जाँचबुझपछि मात्र उनीहरूलाई विवाहका लागि छनोट गरिएको जाजु बताउँछिन्।
११ जोडीको विवाह र सामग्री व्यवस्थापनमा मञ्चले करिब २५ लाख रुपैयाँ खर्च गरेको छ। उक्त रकम दाताहरूबाट संकलन गरिएको हो। कार्यक्रम व्यवस्थित बनाउन शीतल बाहेतीले संयोजक र अर्चना तापडियाले सहसंयोजकको भूमिका निर्वाह गरेका थिए।
समारोहमा सहभागी कोसी प्रदेशका पर्यटन, वन तथा वातावरणमन्त्री भीम पराजुली सामूहिक विवाहलाई ‘सामाजिक सद्भावको कडी’ मान्छन्। उनी भन्छन्, “समाजमा तडकभडक बढिरहेका बेला यस्ता कार्यक्रमले आर्थिक समानता ल्याउन सहयोग पुर्याउँछन्।”
खर्चिलो संस्कृतिविरुद्ध मौन विद्रोह
समाजशास्त्री तथा डिग्री क्याम्पस विराटनगरका उपप्राध्यापक रामप्रसाद पोखरेल पछिल्लो समय विवाह संस्कृति प्रदर्शनकारी होडबाजीमा परिणत भइरहेकोमा चिन्तित छन्। “हल्दी, मेहेन्दी, रिसेप्सन भन्दै चारपाँच दिनसम्म तामझाम गर्ने र महँगा पहिरन फेर्ने प्रवृत्तिले समाजमा हुने र नहुनेबीचको खाडल झन् ठूलो बनाएको छ,” पोखरेल भन्छन्, “यस्तो खर्चिलो संस्कृति सम्भ्रान्त वर्गले अघि बढाएका छन्, जसको प्रत्यक्ष मार गरिब वर्गमा परेको छ।”

सामूहिक विवाहमा सहभागी अतिथिहरू।
उनका अनुसार यस्तो महँगो संस्कृतिबीच सामूहिक विवाह एउटा मौन विद्रोह हो। यसले न्यून आर्थिक अवस्था भएका मानिसलाई सम्मानजनक ढंगले आफ्नो संस्कार पूरा गर्ने मनोवैज्ञानिक साहस दिन्छ।
“समाज केवल देखावटी मात्र होइन, तल्लो वर्गलाई पनि साथमा लिएर हिँड्न सक्छ भन्ने प्रमाण यो सामूहिक विवाहले दिएको छ,” पोखरेल भन्छन्।