कांग्रेसमा गुट
काठमाडौँ। नेपाली कांग्रेसको संस्थापन इतर समूहले १५औँ महाधिवेशन तयारीका लागि सम्पर्क कार्यालय स्थापना गर्दै औपचारिक तयारीमा जुटेको छ।
काठमाडौँको चुनदेवीमा सोमबार पार्टीका संस्थापन इतर नेताहरूले १५औँ महाधिवेशन तयारीका लागि सम्पर्क कार्यालय स्थापना गरेका हुन्। कार्यालय उद्घाटनसँगै १४औँ महाधिवेशनबाट निर्वाचित कार्यसमितिको बैठक बसेको र समसामयिक राजनीतिक विषय र महाधिवेशनका एजेन्डाहरूमाथि छलफल भएको नेता मीन विश्वकर्माले जानकारी दिए।
बैठकमा पार्टीका निवर्तमान कार्यवाहक सभापति पूर्णबहादुर खड्काले ‘विशेष महाधिवेशन’ र ‘नियमित महाधिवेशन’ का विषयमा विगतदेखि देखिएको विवाद र हालसम्मका गतिविधिहरूबारे स्पष्ट पारेको उनले बताए। पार्टीलाई विभाजन हुनबाट जोगाउन शीर्ष नेताहरू, पूर्वपदाधिकारीहरू र केन्द्रीय सदस्यहरूले लगातार पाँच महिनादेखि प्रयत्न गरे पनि संस्थापन पक्षका कारण ठोस परिणाम आउन नसकेको संस्थापन इतर समूहको निष्कर्ष छ।
नेता विश्वकर्माले पार्टीको नेतृत्वमा रहेकाहरूबाट पार्टी एकताका लागि कुनै पनि सार्थक पहल हुन नसकेको र उनीहरूका कतिपय अभिव्यक्तिले एकतामा थप खलल पुर्याएको उल्लेख गरे। उनले १४औँ महाधिवेशनबाट निर्वाचित कार्यसमितिको बैठक मंगलबार बस्ने र १५औँ महाधिवेशनको कार्यतालिका बनाउने जानकारी पनि दिए।
त्यस्तै आगामी ६ साउनमा बीपी स्मृति दिवस मनाउन पनि मंगलबारको बैठकले आवश्यक निर्णय गर्ने उनले बताए। १५औँ महाधिवेशनलाई ‘एकताको महाधिवेशन’ का रूपमा सफल बनाउन सम्पर्क कार्यालय स्थापना गरिएको विश्वकर्माले जानकारी दिए।