काठमाडौँ । विशेष अदालतले नेपाल दूरसञ्चार प्राधिकरणको टेरामक्स खरिद प्रकरणमा प्राधिकरणका तत्कालीन अध्यक्ष दीगम्बर झासहित तीन जनालाई दोषी ठहर गरेको छ।
न्यायाधीशहरू हेमन्त रावल, डिल्लीरत्न श्रेष्ठ र उमेश कोइरालाको इजलासले आज प्राधिकरणका तत्कालीन अध्यक्ष झा, सदस्यहरू धनराज ज्ञवाली र टीका उप्रेतीलाई दोषी ठहर गरेको अदालतकी सूचना अधिकारी पार्वती हितानले जानकारी दिइन्।
दोषी ठहर भएका प्राधिकरणका तत्कालीन अध्यक्ष झासहित तीनै जनालाई ६ महिना कैद र रु ५० हजार दरले जरिबाना ठहर भएको छ। झाको हकमा थप ६ महिना कैद हुने समेत अदालतले ठहर गरेको छ।
उक्त टेरामक्स खरिद प्रकरणमा १९ जना प्रतिवादी भएकोमा तीन जनामा दोषी ठहर भएका हुन भने बाँकी १६ जनाले सफाइ पाएका छन्। उक्त प्रकरणमा पूर्वसञ्चारमन्त्री एवम् नेपाली कांग्रेसका नेता मोहनबहादुर बस्नेतलाई सफाई पाएका छन्।
अदालतले प्राधिकरणका तत्कालीन अध्यक्ष पुरुषोत्तम खनाल, प्राधिकरणका निर्देशकहरु दिपेश आचार्य, अच्युतानन्द मिश्र, सुरेन्द्रलाल हाडालाई सफाइ दिएको छ । त्यस्तै, प्राविधरकणका उपनिर्देशकहरु रेवतीराम पन्थ, सुरेश बस्नेत, हिरण्यप्रसाद बस्ताकोटी र सन्दीप आचार्यलाई सफाइ हुने ठहर गरेको हो । प्राधिकरणका कर्मचारी विजयकुमार रायले पनि सफाइ पाए।
त्यस्तै, अदालतले भ्यानराइस एसएएल (अफ्सोर) नामक आपूर्तिकर्ता र त्यसको मुख्य व्यक्ति प्रमुख कार्यकारी अधिकृत जमल अनोटी र स्थानीय एजेन्ट ट्रेडलिङ्क प्रालि तथा अध्यक्ष दीलिपकुमार गुरुङलाई सफाइ दिएको छ।