काठमाडौँ। अभिषेक गिरीलाई तीन दिन थुनामा राख्न अदालतले अनुमति दिएको छ।
केन्द्रीय अनुसन्धान ब्युरोका अनुसार जिल्ला अदालत काठमाडौँले मंगलबार गिरीलाई तीन दिन थुनामा राखेर अनुसन्धान गर्न अनुमति दिएको हो। गिरीमाथि ठगी तथा आपराधिक लाभ कसुरमा ब्युरोले छुट्टै अनुसन्धान थालेको प्रवक्ता अनुपम शमशेर जबराले बताए।
गिरीलाई ब्युरोले सोमबार राति विराटनगरबाट पक्राउ गरेको थियो। गिरीमाथि सम्पत्ति शुद्धीकरणजन्य कसुरमा समेत ब्युरोले अनुसन्धान थालेको छ। उच्च अदालत विराटनगरले ठगी तथा आपराधिक लाभ कसुरमा थुनाबाहिर राखेर अनुसन्धान गर्न सोमबार आदेश दिएलगत्तै गिरीलाई ब्युरोले पक्राउ गरी काठमाडौँ ल्याएको थियो।
गिरीविरूद्ध ठगी तथा आपराधिक लाभ लिएको कसुरमा उजुरीहरू ब्युरोमा समेत रहेको प्रवक्ता जबराले बताए। गिरीमाथि मोरङ कारागारमा रहँदा कैदीहरूलाई यातना दिएको, जेलभित्र र बाहिर असुली धन्दा सञ्चालन गरेको आरोप छ।