काठमाडौँ। परराष्ट्रमन्त्री शिशिर खनालले नेपाल-भारत सीमा विवाद अन्त्यका लागि कूटनीतिक तवरबाट समाधान खोज्ने प्रयास भइरहेको जानकारी दिएका छन्।
राष्ट्रिय सभा बैठकमा मंगलबार आफ्नो मन्त्रालयको बजेटमाथि उठेका प्रश्नको जवाफ दिँदै उनले नेपाल र भारत छिमेकी देश भएकाले सीमा विवादहरू छन् भन्ने कुरामा कुनै दुविधा नरहेको बताए। उनले सीमा विवाद अन्त्यका लागि कूटनीतिक तवरबाट समाधान खोज्ने प्रयास भइहेको पनि बताए।
उनले ऐतिहासिक दस्ताबेजहरूका आधारमा कालापानी, लिपुलेक र लिम्पियाधुराका साथै सुस्ता क्षेत्र नेपालको भएकाले तथ्य, प्रमाण र ऐतिहासिक दस्ताबेजहरूका आधारमा कूटनीतिक वार्तामार्फत सीमासम्बन्धी विषय समाधान गर्न चाहेको धारणा राखे।
दुई देशबीच विद्यमान रहेका सीमासम्बन्धी संयन्त्रले सीमा क्षेत्रमा काम गरिरहेको भन्दै मन्त्री खनालले आगामी महिना ‘बोर्डर वर्किङ कमिटी’ को बैठक आयोजना गरिएको बताए।
उनले आगामी सोमबारदेखि नयाँ कम्पनीले छाप्ने पासपोर्ट उपलब्ध गराउने तयारीमा राहदानी विभाग जुटेको पनि जानकारी दिए। मन्त्री खनालले राहदानी छपाइको विषय अहिले अदालतमा विचाराधीन रहेकाले सो प्रक्रियामा टिप्पणी गर्नु उपयुक्त नहुने धारणासमेत राखे।