काठमाडौँ। अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले सरकारको १६ खर्ब रुपैयाँ राजस्व संकलन लक्ष्य हासिल गर्न भन्सार तथा आन्तरिक राजस्व प्रशासनलाई प्रभावकारी रूपमा परिचालन हुन निर्देशन दिएका छन्।
भन्सार विभागका नवनियुक्त महानिर्देशक यमलाल भुसाल, आन्तरिक राजस्व विभागका महानिर्देशक डा. भीष्मकुमार भुसाल तथा भन्सार विभागका उपमहानिर्देशक प्रेमप्रसाद आचार्यसँग मन्त्रालयमा भएको भेटमा अर्थमन्त्री वाग्लेले राजस्व चुहावट नियन्त्रण, स्वैच्छिक कर दाखिला वृद्धि र करदातालाई कर तिर्न प्रोत्साहन गर्ने वातावरण निर्माणमा विशेष जोड दिए।
उनले व्यावसायिक वातावरण र कर्मचारीको मनोबल उच्च राख्दै ‘मिसन १६ खर्ब’ सफल बनाउन इमानदारी, पारदर्शिता र जिम्मेवारीका साथ कार्यसम्पादन गर्न आग्रह गरे।
अर्थमन्त्री वाग्लेले राजस्व लक्ष्य प्राप्तिका लागि आवश्यक नीतिगत तथा प्रशासनिक सहयोग मन्त्रालयबाट उपलब्ध गराइने प्रतिबद्धता समेत व्यक्त गरे।