काठमाडौँ
००:००:००
२५ असार २०८३, बिहीबार

२५ असार २०८३
नेपाली कांग्रेसका सभापति गगनकुमार थापा।
अ+
अ-

काठमाडौँ। नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले प्राथमिकता निर्धारण नगरी गरिने संविधान संशोधनले देश द्वन्द्वमा फस्न सक्ने चेतावनी दिएका छन्।

पार्टी कार्यालय सानेपामा बिहीबार आयोजित ‘संविधान संशोधनमा नेपाली कांग्रेसको दृष्टिकोण’ विषयक कार्यक्रममा सभापति थापाले प्राथमिकता निर्धारण नगरी गरिने संशोधनले अप्रत्याशित संवैधानिक जटिलता ल्याउने, चरम दलीय ध्रुवीकरण निम्त्याउने र समाज तथा भूगोललाई जोड्ने मूल आधारहरू नै भत्काउन सक्ने बताएका हुन्।

उनले सरकारले कुनै निश्चित वा प्रस्ट समस्यालाई सुधार गर्ने उद्देश्य नराखी समग्र अन्तरवस्तुलाई एकैपटक संशोधनको एजेन्डा बनाउन खोजेको भन्दै आपत्ति जनाए। लोकतन्त्र, गणतन्त्र, संघीयता, संसदीय शासन प्रणाली, बहुजातीयता, बहुधार्मिकता, बहुसांस्कृतिक विशेषता र समानुपातिक समावेशी प्रतिनिधित्वमा कुनै पनि सम्झौता नहुने कांग्रेसको स्पष्ट नीति रहेको उनको भनाइ छ।

सभापति थापाले संघ र प्रदेश दुवैको संसद्‌को आकार र मन्त्रिपरिषद्‌को आकार घटाउने, स्थानीय सरकारलाई सबल बनाउनेजस्ता विषयमा संशोधन गर्न कांग्रेस तयार रहेको बताए। तर कुनै संरचना नै खारेज गर्नेजस्ता विषय अघि बढाएर देशलाई द्वन्द्वमा फसाउन नहुने उनको तर्क छ।

थापाले संवैधानिक निकायलाई बलियो बनाउनुपर्नेमा उनीहरूलाई सरकारको छायाजस्तो बनाउन खोजिएको धारणा राखे। कांग्रेसले आफ्नो पार्टीभित्र र देशमा कतै भागबन्डा नगर्ने उल्लेख गर्दै सभापति थापाले संवैधानिक निकायमा शुद्धता हुनुपर्ने स्पष्ट पारे।