काठमाडौँ
००:००:००
२५ असार २०८३, बिहीबार

२५ असार २०८३
प्रतीकात्मक तस्बिर।
अ+
अ-

काठमाडौँ ।अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानसँगको युद्धविराम समाप्त भएको संकेत दिएपछि अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्य उल्लेख्य रूपमा बढेको छ। ट्रम्पको अभिव्यक्तिपछि ब्रेन्ट र डब्लूटीआई दुवै क्रुड तेलको मूल्य करिब ५ प्रतिशतले उकालो लागेको हो।

अन्तर्राष्ट्रिय बजारमा ब्रेन्ट क्रुडको मूल्य ५.१० प्रतिशत अर्थात् ३.७८ अमेरिकी डलरले बढेर प्रतिब्यारेल ७७.९४ डलर पुगेको छ। त्यस्तै, डब्लूटीआई क्रुड पनि ४.९५ प्रतिशतले वृद्धि हुँदै प्रतिब्यारेल ७३.९३ डलरमा कारोबार भइरहेको छ।

टर्कीको अंकारामा आयोजित नाटो शिखर सम्मेलनका क्रममा पत्रकारहरूसँग कुरा गर्दै ट्रम्पले इरानसँगको युद्धविराम अन्त्य भएको बताएका हुन्। उनले इरानसँग थप वार्ताको सम्भावना कमजोर भएको उल्लेख गर्दै अहिलेको अवस्थामा वार्तालाई समयको बर्बादी ठानेको प्रतिक्रिया दिएका छन्।

अमेरिका र इरानले एकअर्कामाथि युद्धविराम उल्लङ्घन गरेको आरोप लगाएपछि क्षेत्रीय तनाव पुनः चर्किएको छ। अमेरिकी सेनाले स्ट्रेट अफ होर्मुज क्षेत्रमा व्यावसायिक पानीजहाजमाथि भएको आक्रमणको जवाफस्वरूप इरानका विभिन्न सैन्य संरचनामाथि हवाई आक्रमण गरेको जनाएको छ।

अमेरिकी सेनाको सेन्ट्रल कमान्डका अनुसार हवाई आक्रमणमा इरानका हवाई प्रतिरक्षा प्रणाली, कमान्ड तथा नियन्त्रण केन्द्र र पानीजहाजविरोधी क्षमतासँग सम्बन्धित संरचनालाई निशाना बनाइएको थियो। साथै, इरानका दर्जनौँ साना सैन्य डुंगा नष्ट गरिएको दाबी पनि अमेरिकी पक्षले गरेको छ।

यस घटनाक्रमपछि लगानीकर्ताहरूले स्ट्रेट अफ होर्मुजमा थप अवरोध आउन सक्ने र त्यसले विश्वव्यापी ऊर्जा आपूर्तिमा असर पार्न सक्ने चिन्ता व्यक्त गरेका छन्। विश्वकै प्रमुख तेल ढुवानी मार्गमध्ये एक मानिने स्ट्रेट अफ होर्मुजमा तनाव लम्बिए तेलको मूल्य, मुद्रास्फीति तथा विश्व अर्थतन्त्रमा थप दबाब पर्ने विश्लेषण गरिएको छ।