काठमाडौँ
००:००:००
२५ असार २०८३, बिहीबार

२५ असार २०८३
फाइल तस्वीर
अ+
अ-

कालिकोट। हिमाली जिल्लामा पनि लामखुट्टेको टोकाइबाट लाग्ने रोगका बिरामी देखिन थालेका छन्। कालिकोटमा लामाखुट्टेको टोकाइबाट लाग्ने रोग डेंगी, औलो र कालाजारका बिरामी भेटिन थालेका हुन्।

विगतमा तराई र पहाडका जिल्लामा मात्र देखिने गरेको लामखुट्टेका कारणले लाग्ने रोग केही वर्षयता हिमाली जिल्लामा देखिन थालेको छ। जिल्लामा आर्थिक २०८२/ ८३ मा लामखुट्टेको टोकाइबाट लाग्ने डेंगी, औलो र कालाजारका १९ बिरामी भेटिएको जिल्ला स्वास्थ्य सेवा कार्यालयका जनस्वास्थ्य अधिकृत कटकबहादुर महतले जानकारी दिए। उनका अनुसार डेङ्गीका १०, कालाजारका आठ र औलोका एक जना एक बिरामी भेटिएका छन्।

जिल्लाका नौ पालिकामध्ये छ पालिकामा डेंगी औलो र कालाजारका बिरामी भेटिएको जनस्वास्थ्य अधिकृत महतले बताए। “जिल्लाका नौ पालिकामध्ये खाँडाचक्र नगरपालिका डेंगीका आठ, पलाँता गाउँपालिका एक , नरहरिनाथ गाउँपालिका एक जना बिरामी भेटिएका छन्।

त्यस्तै, कालाजारका खाँडचक्र नगरपालिका दुई, पचालझरना गाउँपालिका दुई , रास्कोट नगरपालिका, शुभकालिका, पलाँता र नरहरिनाथ गाउँपालिकामा एक÷एक जना, बिरामी भेटिएका छन्”, उनले भने, “औलो रोगका बिरामी खाँडाचक्र–२ मा एक जनामा भेटिएको थियो। यो भने आयतित बिरामी थिए।”

जलवायु परिवर्तनका कारणले तापक्रम बढ्दै जाँदा पहिले चिसो मानिने क्षेत्रमा लामखुट्टे बाँच्न र प्रजनन गर्न सक्षम भएका र जिल्लाबाट धेरै मानिसहरु तराईका जिल्लाबाट आउन–जाने भएकाले पनि पछिल्लो चरणमा डेंगी, औलो र कालाजारका बिरामी भेटिने गरेको जिल्ला स्वास्थ्य सेवा कार्यालयका प्रमुख रत्नवीर सुनारले बताए।

“सडक निर्माण, बजार विस्तार तथा अव्यवस्थित बस्तीका कारण पानी जम्ने ठाउँ बढ्दा लामखुट्टे हुर्कन अनुकूल वातावरण बन्छ। त्यो कारणले पनि जिल्लामा डेंगी, औलो र कालाजारका बिरामी भेटिन थालेका हुन्”, उनले भने, “ विशेष गरेर जिल्लाका तल्लो भेग कर्णाली नदी र तिला नदी किनार आसपासका क्षेत्रमा लामखुट्टेबाट सर्ने रोगका बिरामी भेटिएका छन्।”

जिल्लामा डेंगी, औलो र कालाजारका सङ्क्रमणका बिरामी भेटिन थालेपछि महामारीको रुपमा फैलिन नदिनका लागि स्वास्थ्य संस्थाहरुसँग समन्वय गरेर लामखुट्टेको लार्भा खोज्ने र नष्ट गर्ने अभियान सुरु गरिएको जिल्ला स्वास्थ्य कार्यालयका महामारी रोग नियन्त्रण शाखाका प्रमुख हेमराज बमले बताए।

“लामखुट्टेको जोखिम देखिएका जिल्लाका विभिन्न ठाउँमा स्थानीय स्वास्थ्य संस्थाहरुको सहयोगमा लार्भा खोज्ने र नष्ट गर्ने तथा सचेतनाको अभियान सञ्चालन गरेका छौँ”, उनले भने “विशेष गरेर डेंगी, औलो र कालाजार बिरामी भेटिएका क्षेत्रमा घरभित्र र बाहिर पानी जम्ने ठाउँहरु सफा गर्ने र लामखुट्टेको टोकाइबाट बच्न झुलको प्रयोग विषयमा जानकारी गराएका छौँ।”