काठमाडौँ
००:००:००
२५ असार २०८३, बिहीबार

२५ असार २०८३
अ+
अ-

काठमाडौं। भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालय र संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले कर्मचारीको आचरण, व्यवहार र सेवा प्रवाहलाई थप व्यवस्थित बनाउन ‘कर्मचारीले पालना गर्नुपर्ने आचारसंहिता, २०८३’ लागू गरेका छन्। मन्त्रीस्तरीय निर्णयबाट असार १६ गते स्वीकृत उक्त आचारसंहिता असार २२ गतेदेखि मन्त्रालयअन्तर्गतका सबै महाशाखा तथा निकायमा कार्यान्वयनमा ल्याइएको हो।

नयाँ आचारसंहिताअनुसार कार्यालय समय वा फिल्डमा खटिएको अवस्थामा कार्यालय पोसाकमा खिचिएका फोटो तथा भिडियो सामाजिक सञ्जालमा प्रकाशन गर्न कर्मचारीलाई रोक लगाइएको छ। यद्यपि, शिक्षामूलक वा सूचनामूलक सामग्रीका हकमा भने यो व्यवस्था लागू हुने छैन।

फेसबुक, एक्स (ट्विटर), ह्वाट्सएप, टिकटकलगायत सामाजिक सञ्जाल प्रयोग गर्दा सरकारी सेवाको मर्यादा र संस्थागत प्रतिष्ठामा असर नपर्ने गरी व्यावसायिक सतर्कता अपनाउनुपर्ने व्यवस्था गरिएको छ। साथै, सरकारका नीति तथा कार्यक्रमविरुद्ध लेख, रचना वा टिप्पणी सार्वजनिक गर्न पनि निषेध गरिएको छ।

आचारसंहिताले सेवाग्राहीसँग कर्मचारीको व्यवहारलाई पनि विशेष महत्व दिएको छ। कर्मचारीले सबै सेवाग्राहीसँग शिष्ट, मर्यादित र निष्पक्ष व्यवहार गर्नुपर्ने तथा धर्म, जात, वर्ण वा लिङ्गका आधारमा कुनै पनि प्रकारको भेदभाव गर्न नपाइने उल्लेख गरिएको छ।

यसैगरी, कार्यालयबाहिर सेवाग्राहीसँग अनावश्यक भेटघाट गर्न, सेवाग्राहीको प्रतिनिधि वा एजेन्टका रूपमा काम गर्न तथा आफ्नो पदको दुरुपयोग गरी व्यक्तिगत वा पारिवारिक लाभ लिन पनि रोक लगाइएको छ।

आचारसंहिताअनुसार कर्मचारीले कार्यालय समयको पूर्ण पालना गर्नुपर्ने, तोकिएको पोसाक र परिचयपत्र अनिवार्य रूपमा प्रयोग गर्नुपर्नेछ। कार्यालय परिसर वा सार्वजनिक स्थलमा मदिरा सेवन, धूम्रपान, जुवातास खेल्ने लगायतका अमर्यादित गतिविधि गर्न निषेध गरिएको छ।

सरकारी प्रतीक चिन्ह, छाप, इमेल, पासवर्ड तथा आधिकारिक कागजातको सुरक्षा सुनिश्चित गर्नुपर्ने तथा सरकारी सम्पत्ति, सूचना प्रणाली र उपकरण व्यक्तिगत प्रयोजनका लागि प्रयोग गर्न नपाइने व्यवस्था पनि गरिएको छ।

मन्त्रालयले आचारसंहिताको कार्यान्वयनको नियमित अनुगमन सचिव वा सचिवले तोकेको अधिकृतमार्फत गरिने जनाएको छ। आचारसंहिता उल्लंघन गर्ने कर्मचारीमाथि प्रचलित कानुनबमोजिम कारबाही गरिने पनि मन्त्रालयले स्पष्ट पारेको छ।