काठमाडौँ
००:००:००
२६ असार २०८३, शुक्रबार

२६ असार २०८३
अ+
अ-

पोखरा। उद्योग तथा पर्यटन मन्त्रालय, गण्डकी प्रदेशले प्रदेशका ६ जना साहसी पर्वतारोहीलाई सम्मान गर्दै जनही ४५ हजार रुपैयाँ नगद सहयोग प्रदान गरेको छ।

पोखरामा आयोजित कार्यक्रममा गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डे र उद्योग तथा पर्यटन मन्त्री यशोदा रिमालले सम्मानपत्र, दोसल्ला तथा नगदसहित पर्वतारोहीहरूलाई सम्मान गर्नुभएको हो।

सम्मानित हुनेहरूमा पर्वतको कुश्मा नगरपालिका–९ निवासी तथा हाल भारतीय सेनामा कार्यरत किरणबहादुर पी.सी. (सगरमाथा), कास्कीको माछापुच्छ्रे गाउँपालिका–४ निवासी तथा नेपाली सेनामा मेजर पदमा कार्यरत किशोर अधिकारी (सगरमाथा), तनहुँको ऋषिङ गाउँपालिका–२ निवासी तथा नेपाली सेनाको अमलदार पदमा कार्यरत अमित थापा (कञ्चनजङ्घा), पर्वतको विहादी गाउँपालिका–४ निवासी तथा नेपाली सेनाको हुद्दा पदमा कार्यरत देवीप्रसाद न्यौपाने (सगरमाथा), तनहुँको घिरिङ गाउँपालिका–५ निवासी तथा नेपाली सेनाको प्युठ पदमा कार्यरत नवराज राना (अन्नपूर्ण–१) तथा गोरखाको चुमनुब्री गाउँपालिका–१ निवासी नाङ्सल छ्योटोन लामा (सगरमाथा, मनास्लु र ल्होत्से) रहेका छन्।

मन्त्रालयका अनुसार सम्मानित पर्वतारोहीहरूको साहस, समर्पण र योगदानले नेपालको पर्वतीय पर्यटनलाई अन्तर्राष्ट्रिय स्तरमा थप परिचित बनाउन महत्त्वपूर्ण भूमिका खेलेको छ।

यस्ता सम्मानले पर्वतारोहण क्षेत्रलाई थप ऊर्जा प्रदान गर्नुका साथै पर्यटन प्रवर्द्धनमा सकारात्मक सन्देश प्रवाह गर्ने विश्वास मन्त्रालयले व्यक्त गरेको छ।