काठमाडौँ। सांसदहरुले सरकारसँग गणेश नेपालीको आत्मदाह र उनको निधन भएको घटनाका सम्बन्धमा निष्पक्ष छानबिन गर्न माग गरेका छन्।
प्रतिनिधिसभाको आजको बैठक सुरु हुनेबित्तिकै प्रमुख प्रतिपक्षीसहित विपक्षी दलका सांसदहरुले उठेर विरोध जनाएपछि सभामुख डोलप्रसाद अर्यालले सांसद वासना थापालाई समय दिएका थिए। थापाले मुगुका २५ वर्षीय गणेश नेपालीले बिहीबार गरेको आत्मदाह प्रयासमा सरकार किन मौन भनी प्रश्न गरिन्।
साथै उनले हरियो रङको बसलाई निलो बनाएर कसैको पनि सुरक्षा नहुने बताइन्। सुकुम्वासीलाई पनि नदीमा हाम फाल्न बाध्य हुनुपर्ने वातावरण बनाइएको सांसद थापाले बताइन्। सांसद भूमिका लिम्बू सुब्बाले पनि गणेश नेपालीमाथि मोटरसाइकल पार्किङ गरेका कारण १० हजार रुपैयाँ जरिवाना गरिएकै कारण आत्मदाहको प्रयास गरेको भन्दै यस्तो वातावरण बनाउनु दुःखद् भएको बताइन्।
नागरिकलाई किन मर्न बाध्य बनाइँदै छ भनी उनले सरकारको ध्यानाकर्षण गराएकी थिइन्। सांसद पार्वती विकले गणेश नेपालीजस्ता नागरिकले जिउँदै जलेर मर्नुपर्ने अवस्था आएको भन्दै उनले मृतकका परिवारलाई क्षतिपूर्ति दिन माग गरिन्। सांसद राधिका रम्तेलले पनि मृतक नेपालीको घटनाका विषयमा छानबिन हुनुपर्ने पनि बताइन्।
सांसद ज्ञानबहादुर शाहीले गरिब, दुःखी जनता राजधानीमा बाँच्न नसक्ने वातावरण बनेको बताए। सुविधा र व्यवस्था हुनेखानेका पक्षमा मात्र रहेको उनले सुनाए। युरोपमाभन्दा बढी कर तिरेर सोमालियामा जस्तै पाउन नागरिक बाध्य भएको सांसद शाहीको भनाइ थियो।