काठमाडौँ
००:००:००
२६ असार २०८३, शुक्रबार

२६ असार २०८३
अ+
अ-

म्याग्दी । धवलागिरि गाउँपालिका–७ स्यानखण्डमा म्याग्दी नदीको कटान र पहिरोको समस्या उत्पन्न गरेको छ । कुल ५३.५ मेगावाट क्षमताको अपर म्याग्दी–१ जलविद्युत् आयोजनाको विद्युतगृह निर्माणस्थलबाट निकालिएको माटो नदी किनारमा थुपार्दा स्यानखण्डमा रहेको बगैँचा र पाखोबारीमा क्षति पुगेको हो। म्याग्दी नदीको दायाँ किनारमा रहेको विद्युतगृह निर्माणस्थल भारवाङ मालिका गाउँपालिकाको ७ नम्बर वडाको भूगोलमा पर्छ।

जलविद्युत् आयोजनाले जथाभावी माटो र ‘मकिङ’ (सुरुङबाट निस्किएको गेगर) थुपारेका कारण म्याग्दी नदीले धार परिवर्तन गरेर बायाँतर्फ रहेको १८ रोपनी जग्गा पहिरो र कटानको चपेटामा परेको जग्गाधनी गजबहादुर थापाले गुनासो गरे।

“जलविद्युत् आयोजनाले पूर्वसहमति र अनुमतिबिनै नदी किनारमा माटो र मकिङ थुपारिदिँदा केराको बगैँचासहितको पाखोबारी पहिरोले बगाउनुका साथै बाँकी रहेको जमिन पनि छियाछिया बनाएर प्रयोग गर्न नमिल्ने बनाएको छ”, उनले भने, “एक वर्षयता आयोजनालाई जथाभावी माटो नफाल्न अनुरोध गरे पनि बेवास्ता गरेकाले बर्खायामसँगै म्याग्दी नदीमा पानीको सतह बढ्न थालेपछि पहिरो र कटानको समस्या सृजना भएको हो।”

जगबहादुर र यामबहादुर थापाको व्यक्तिगत जग्गामा रहेको केरा बगैँचा र उत्तिसको निजी वन म्याग्दी नदीले कटान गरेर बगाइसकेको छ । भारवाङका बासिन्दा थमन जुग्जालीले जलविद्युत् आयोजनाले वातावरणीय पक्षलाई बेवास्ता गर्दै नदीमा माटो, मकिङ थुपार्ने र बगाउने गरेकाले बाढीको आयतन बढेर तटीय क्षेत्रमा कटानको जोखिम बढाएको बताए।

“आयोजना निर्माणस्थलबाट निस्किएको माटो र मकिङलाई सुरक्षित रूपमा व्यवस्थापन गर्नुपर्ने वातावरणीय अध्ययन प्रतिवेदनका शर्तहरू पालना भएको छैन”, उनले भने, “सुरुङबाट निस्किएको बारुद मिसिएको मकिङका कारण म्याग्दी नदीमा माछालगायत जलचर सङ्कटमा परेका छन्।”

भारवाङका दलबहादुर जुग्जालीले सुरुङ र पहुँचमार्गबाट आउने लेदोसहितको पानी बारीमा पसेर खेतीबाली नष्ट भएको गुनासो गर्नुभयो । वातावरणीय र सामाजिक असर न्यूनीकरण, पहुँचमार्ग स्तरोन्नति, धुलो र हिलोको समस्या समाधान गर्न आयोजनालाई ध्यानाकर्षण गराए पनि सुनुवाइ नगरेको स्थानीयवासीले बताएका छन्।

कटानको जोखिम भएको ठाउँमा संरक्षण र क्षति भएको जग्गाको क्षतिपूर्ति दिने नीतिअनुसार जग्गाधनीसँग सहमतिको प्रयास गरिएको आयोजना प्रमुख ज्योतिकुमार केसीले बताए। “आयोजना निर्माणस्थल नजिकै भएका कारणले असर परेको स्वीकार गरेका छौँ तर सबै क्षति हाम्रो मात्रै कारणले भएको होइन”, उनले भने, “आयोजनाको कारणले व्यक्तिगत र सार्वजनिक सम्पत्तिमा हानि नपुगोस् भन्नेमा हामी संवेदनशील छौँ।”

क्षति पुगेको जग्गाको विषयमा विभिन्न विकल्पमा छलफल र सहमतिको प्रयास जारी रहेको आयोजना प्रमुख केसीले बताए । आयोजनाको प्रवर्द्धक कम्पनी अपर म्याग्दी हाइड्रोपावरका वरिष्ठ सामाजिक सुरक्षा प्रबन्धक सुरेश घलेले वातावरणीय असर न्यूनीकरणका उपाय अपनाउनका लागि निर्माण कम्पनीलाई सचेत बनाएको र सामाजिक उत्तरदायित्वका कार्यक्रममार्फत स्थानीयका मुद्दा सम्बोधनका लागि कार्यक्रम सञ्चालन गरिएको बताए। उनका अनुसार स्थानीय तहको सिफारिस र समन्वयमा कार्यान्वयन हुने सामाजिक उत्तरदायित्वका कार्यक्रमका लागि रु छ करोड २० लाख बजेट विनियोजन गरिएको छ।

सो नदीमा अन्य आयोजना पनि रहेकाले बाढीको आयतन बढ्नुमा अपर म्याग्दी–१ मात्र जिम्मेवार नभएको बताउँदै घलेले सडक मर्मत, धुलो र हिलो व्यवस्थापनका काममा अन्य आयोजनासँग समन्वय तथा साझेदारी गर्नुपर्ने भएकाले समस्या भएको प्रतिक्रिया दिए।

विसं २०८३ फागुनभित्र विद्युत् उत्पादन सुरु गर्ने लक्ष्य राखेको आयोजनाको सिभिल ठेकेदार लुना विल्डर्स एन्ड कन्ट्याक्टर २०८१ जेठ ८ गते परिचालित भएको थियो । धवलागिरी गाउँपालिका–४ खाम्लामा म्याग्दी नदीको पानीलाई सुरुङमा पठाउनका लागि १५ मिटर अग्लो र ४० मिटर लामो बाँध निर्माण भइरहेको छ।

बाँध निर्माणस्थल नजिकै १०० मिटर लामो र १५ मिटर अग्लो तीनवटा पानी थिग्र्याउने पोखरी निर्माणाधीन छ । नदीप्रवाही प्रकृतिको आयोजनाको आउटलेटदेखि विद्युतगृहको उचाइ १९६ मिटर छ । ऊर्जा इन्जिनियरिङ एन्ड म्यानेजमेन्ट सोलुुसन परामर्शदाता रहेको यस आयोजनाको प्रवर्द्धक कम्पनी ऊर्जा डेभलपर्समा आबद्ध छ । विद्युतगृहतदेखि मालिका गाउँपालिका–७ डाडाखेतमा निर्माणाधीन १३२ केभी क्षमताको सबस्टेशनमा जोड्नका लागि १.५ किलोमिटर लामो प्रसारण लाइनको अध्ययन भइरहेको छ।

सानिमा बैंकको नेतृत्वमा छवटा बैंकको ऋण, प्रवर्द्धक कम्पनी र सर्वसाधारणको सेयरमार्फत जुटाइने रु ११ अर्ब २३ करोड २७ लाख छ हजार लगानीमा निर्माण हुने आयोजनाको विद्युतगृह मालिका गाउँपालिका–७ भारवाङमा रहनेछ । आयोजनाबाट वार्षिक औसत ३१५.१ गिगावाट घण्टा ऊर्जा राष्ट्रिय प्रणालीमा जोडिनेछ।