काठमाडौँ । गृहमन्त्री सुदन गुरुङले आत्मदाह गरेका गणेश नेपालीको मोटरसाइकलमा ह्वील लक ट्राफिक प्रहरीले नलगाएको बताएका छन्।
शुक्रबारको प्रतिनिधिसभा बैठकमा गृहमन्त्री गुरुङले गणेश नेपालीको मोटरसाइकलमा नगर प्रहरीले ह्वील लक गरेको बताएका हुन्।
विपक्षी दलका सांसदहरुतर्फ लक्षित गर्दै उनले भने,‘मुलुकमा तीन थरीका सरकार छन् । संघीय सरकार, स्थानीय सरकार र प्रदेश सरकार छन् । हिजो घटना भएको ठाउँमा कसको सरकार छ ? रास्वपाको छ ? त्यहाँ त हाम्रो सरकार थिएन ।’ गृहमन्त्री अघि बोलेका विपक्षी दलका सांसदहरुले प्रधानमन्त्रीलाई कालो चस्मा खोल्न आग्रह गरेका थिए । केहीले गृहमन्त्री स्टन्टबाजीमा उत्रिएको बताएका थिए । गृहमन्त्री गुरुङले आफूहरुले गणेशलाई बचाउन आफूहरुले हरसम्भव प्रयास गरेको तर नसकेको बताए । उनले भने, ‘हामी गृहमन्त्रीमा बसेर कसरी के गर्ने भनेर टिम बनाएर छलफल गरिरहेका थियौं । हिजो हस्पिटलमा कति जना हुनुहुन्थ्यो ? जो यहाँ घाँटी चिच्याएर कराउनुभएको छ ।’
उनले एयर एम्बुलेन्सबाट उनलाई भारत लैजाने प्रयास गरेको तर स्वास्थ्य गम्भीर भएकाले चिकित्सकको सुझावअनुसार राति भारत नलगेको बताए। उनले आफूले स्टन्टबाजी नगरेको बताए। उनले घाँची चिच्याएर मात्रै नहुने भन्दै हातले काम गर्नुपर्ने बताए । उनले भने, ‘मुखले बोलेर मात्र हुँदैन। त्यो मुखले बोलेको ५० औं वर्ष भइसक्यो । हामीले हातले गर्नुपर्छ। आफ्नो जनताको सेवा ठाउँमा गएर गर्नुपर्छ। त्यसलाई तपाईंहरू स्टन्टबाजी भन्नुहुन्छ । मलाई इच्छा छैन कसैको लागि स्टन्टबाजी गर्नका लागि ।’