काठमाडौं । पश्चिम नेपालमा केन्द्रित रहेको मनसुनी वर्षा आइतबारदेखि पूर्वी र मध्य नेपालतर्फ सर्ने भएको छ। जल तथा मौसम विज्ञान विभागले आगामी दुई दिन कोशी, मधेश, बागमती, गण्डकी तथा लुम्बिनी प्रदेशको पूर्वी क्षेत्रमा वर्षा बढी केन्द्रित हुने पूर्वानुमान गर्दै केही स्थानमा भारीदेखि अति भारी वर्षा हुन सक्ने चेतावनी दिएको छ।
विभागका मौसमविद् रोजन लामिछानेका अनुसार मनसुनको न्यून चापीय रेखा पूर्वतर्फ नेपालको तराई नजिक सर्ने क्रममा रहेकाले आइतबारदेखि पूर्वी र मध्य नेपालमा वर्षाको तीव्रता बढ्ने देखिएको छ। उनका अनुसार लुम्बिनीको पश्चिमी भूभाग, कर्णाली र सुदूरपश्चिम प्रदेशमा भने तुलनात्मक रूपमा कम वर्षा हुने सम्भावना रहेको छ।
विभागका अनुसार आइतबार कोशी, मधेश, बागमती र गण्डकी प्रदेशका तराईका अधिकांश स्थान तथा लुम्बिनी र सुदूरपश्चिमका केही स्थानमा मध्यम वर्षा हुनेछ। साथै मधेशसहित कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका पहाडी तथा तराईका एक–दुई स्थानमा भारी वर्षा हुने सम्भावना रहेको छ।
आइतबार राति कोशी, मधेश, बागमती र गण्डकी प्रदेशका तराईका एक–दुई स्थानमा भारीदेखि धेरै भारी वर्षा हुन सक्ने विभागले जनाएको छ। विशेषगरी कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी भूभागका केही स्थानमा अति भारी वर्षाको सम्भावना रहेको छ।
सोमबार पनि कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी तथा तराईका धेरै स्थानमा मध्यम वर्षा हुने अनुमान गरिएको छ। ती प्रदेशका पहाडी क्षेत्र तथा मधेशसहित तराईका एक–दुई स्थानमा भारीदेखि धेरै भारी वर्षा हुन सक्ने विभागको प्रक्षेपण छ।
विभागले निरन्तर वर्षाका कारण नदी तथा खोलामा पानीको सतह बढ्न सक्ने, बाढी, पहिरो, डुबान तथा भूक्षयको जोखिम रहने भएकाले उच्च सतर्कता अपनाउन आग्रह गरेको छ।