काठमाडौँ
००:००:००
२८ असार २०८३, आईतवार

२८ असार २०८३
अ+
अ-

काठमाडौँ। काठमाडौँ उपत्यकासहित देशका विभिन्न स्थानमा आज वर्षा भइरहेको छ।

वर्षासँगै काठमाडौँका वाग्मती, विष्णुमती, टुकुचालगायतका नदी तथा खोलामा पानीको बहाव उल्लेख्य रूपमा बढेको छ।

लगातार वर्षाका कारण राजधानीका विभिन्न सडकमा पानी जम्दा सवारी आवागमन प्रभावित भएको थियो। केही स्थानमा ट्राफिक व्यवस्थापनमा चुनौती देखिएको भन्दै ट्राफिक प्रहरीले आवश्यक सतर्कता अपनाउन चालक तथा यात्रुलाई आग्रह गरेको छ।

जल तथा मौसम विज्ञान विभागका अनुसार आज राति कोशी, बागमती र गण्डकी प्रदेशका विभिन्न भूभागमा भारीदेखि अतिभारी वर्षा हुने सम्भावना छ। विभागले मनसुन सक्रिय रहेकाले बाढी, पहिरो तथा गेग्रान बहावको जोखिम उच्च रहेको जनाएको छ।

विभागले नदी तथा खोलाको आसपास, पहिरोको जोखिम भएका क्षेत्र र डुबान हुनसक्ने स्थानमा बसोबास गर्ने नागरिकलाई विशेष सतर्कता अपनाउन आग्रह गरेको छ। अत्यावश्यक कामबाहेक जोखिमपूर्ण क्षेत्रमा आवतजावत नगर्न र स्थानीय प्रशासन तथा सम्बन्धित निकायले जारी गर्ने सूचना पालना गर्न अनुरोध गरेको छ।

भारी वर्षाका कारण दैनिक जनजीवन, कृषि, सडकमा समेत असर पर्न सक्ने भएकाले आवश्यक पूर्वसावधानी अपनाउन विभागले अपिल गरेको छ।