काठमाडौँ। काठमाडौँका मिडिया हाउस र भाटभटेनी बाहिर सडकमा शंकास्पद पार्किङ गरी राखिएका गाडी हटाइएका छन्।
तीनकुनेस्थित कान्तिपुर पब्लिकेसन, नयाँबानेश्वरमा रहेको अनलाइनखबर‚ मध्यबानेश्वरमा रहेको हिमालय टेलिभिजन र अनामनगरको भाटभटेनी अगाडिको सडकमा बेवारिसे छाडिएका गाडी प्रहरीको सहायतामा हटाइएका हुन्।
कान्तिपुरको गेट अगाडि राखिएको गाडी क्रेनको सहायताले हटाइएको हो। गेट अगाडि सडकमै राखिएका गाडीले केहीबेर सवारीसाधन आवागमनमा अवरोध सिर्जना गरेको थियो।
यातायात व्यवस्था विभागको तथ्याकअनुसार कान्तिपुरको अगाडि रहेको बा. प्र-०१-०३४ च ८४८० नम्बरको गाडी सानिमा बैंकको नाममा रहेको पाइएको छ। हिमालयन टेलिभिजन कार्यालयअगाडि राखिएको बा.१०च १२५५ नम्बरको गाडी सुवाश भण्डारीको नाममा र अनलाइनखबरको गेटअगाडिको सडकमा रहेको बा.१२ च ८५४५ नम्बरको गाडी सुनील पौडेलको नाममा रहेको पाइएको छ।
सडकमा गाडीलाई बेबारिसे छाड्ने व्यक्तिबारे अनुसन्धान भइरहेको प्रहरीले जानकारी दिएको छ।