काठमाडौं। फिफा विश्वकप–२०२६ को पहिलो सेमिफाइनलमा आज दुई युरोपेली शक्तिशाली टोली फ्रान्स र स्पेन आमनेसामने हुँदैछन्। डाल्लास स्टेडियममा हुने यो रोमाञ्चक प्रतिस्पर्धा नेपाली समयअनुसार राति १२:४५ बजे सुरु हुनेछ।
दुवै टोली फाइनलमा स्थान सुरक्षित गर्ने लक्ष्यसहित मैदान उत्रिनेछन्। फ्रान्सले क्वाटरफाइनलमा मोरोक्कोलाई २–० गोलले पराजित गर्दै लगातार तेस्रो पटक सेमिफाइनलमा स्थान बनाएको हो। यता स्पेनले बेल्जियमलाई २–१ गोलले हराउँदै अन्तिम चारमा आफ्नो स्थान सुरक्षित गरेको थियो।
जारी प्रतियोगितामा दुवै टोली अपराजित छन्। फ्रान्सले खेलेका सबै ६ खेलमा जित हात पारेको छ भने स्पेनले पाँच खेल जित्दा पहिलो खेल बराबरी खेलेको थियो। फिफा वरीयतामा स्पेन दोस्रो तथा फ्रान्स तेस्रो स्थानमा छन्।
फ्रान्सका लागि यो खेल केवल फाइनल यात्रा मात्र होइन, पछिल्ला दुई महत्त्वपूर्ण हारको बदला लिने अवसर पनि हो। फ्रान्स युरो २०२४ को सेमिफाइनलमा स्पेनसँग २–१ तथा युईएफए नेसन्स लिग २०२५ को सेमिफाइनलमा ५–४ गोलले पराजित भएको थियो। त्यसैले यसपटक फ्रान्स स्पेनलाई हराउँदै हिसाब बराबर गर्ने लक्ष्यमा हुनेछ।
यता सन् २०१० पछि पहिलो पटक विश्वकपको सेमिफाइनल पुगेको स्पेन दोस्रो पटक फाइनलमा पुग्ने लक्ष्यसहित मैदानमा उत्रिनेछ।
आजको खेलको विजेताले फाइनलमा अर्जेन्टिना र इंग्ल्याण्डबीच हुने दोस्रो सेमिफाइनलको विजेतासँग उपाधिका लागि प्रतिस्पर्धा गर्नेछ।