काठमाडौँ
००:००:००
३२ असार २०८३, बिहीबार

३२ असार २०८३
अ+
अ-

बुटवल। लुम्बिनी प्रदेशमा सत्तारुढ दल नेपाली कांग्रेस एमाले नेतृत्वको सरकारबाट बाहिरिने तयारी गरेको छ।

आज दिउसो संसदीय दलका नेता, प्रमुख सचेतक, सचेतक र मन्त्रीहरुसहितको बैठक बसेर निर्णय गर्ने प्रमुख सचेतक जमुना ढकालले जानकारी दिइन्। उनका अनुसार बैठकपछि मन्त्रीहरुले राजीनामा दिने र सरकारलाई दिएको समर्थन फिर्ता लिने तयारी छ।

कांग्रेस संसदीय दलका नेता डिल्लीबहादुर चौधरीले केन्द्रको निर्णयअनुसार मन्त्रीहरूलाई फिर्ता बोलाइने र सरकारलाई दिएको समर्थनबारे पनि आजकै बैठकले टुंगो लगाउने बताए।

लुम्बिनी सरकारमा कांग्रेसका तर्फबाट आर्थिक मामिला मन्त्री धनेन्द्र कार्की, सहरी विकास तथा खानेपानी मन्त्री सरोज थापा रोज, सामाजिक विकास मन्त्री जन्मजय तिमिल्सिना, उद्योग, पर्यटन तथा यातायात मन्त्री प्रचण्डविक्रम न्यौपाने र वन तथा वातावरण मन्त्री देवकरणप्रसाद कलवार सहभागी छन्।

कांग्रेसले समर्थन फिर्ता लिएसँगै वर्तमान सरकार अल्पमतमा पर्नेछ। एमालेले तत्काल सत्ता नछोड्ने संकेत गर्दै नेकपासँग नयाँ सत्ता साझेदारीको सम्भावना खोजिरहेको छ भने दल नेकपाका दल नेता र प्रमुख सचेतकसँग निरन्तर संवाद गरिरहेको एमाले निकट स्रोतले जनाएको छ।

कांग्रेस–एमालेले गठबन्धन गर्दै ७ साउन २०८१ मा एमालेका चेतनारायण आचार्यलाई मुख्यमन्त्री बनाउने सहमति गरेका थिए।

८७ सदस्यीय लुम्बिनी प्रदेश सभामा हाल ८३ सदस्य बहाल छन्। सरकार गठनका लागि ४२ सदस्यको समर्थन आवश्यक पर्छ। एमाले र कांग्रेसका २९–२९ तथा नेकपाका १३ (एक सभामुखसहित) सदस्य रहेकाले नयाँ सरकार गठनमा नेकपा, लोसपा वा राप्रपा निर्णायक बन्न सक्ने अवस्था छ।