जेनेभा। संयुक्त राष्ट्रसङ्घले म्यान्मारबाट रोहिङ्ग्या शरणार्थी बोकेर गएका दुई डुंगा दुर्घटनामा ५०० भन्दा बढी मानिसको ज्यान गएको वा बेपत्ता भएको आशंका व्यक्त गर्दै यसलाई सम्भावित मानवीय विपत्ति भएको जनाएको छ।
घटनाको आधिकारिक पुष्टि हुन बाँकी रहे पनि प्रारम्भिक विवरणले ठूलो मानवीय क्षतिको संकेत गरेको राष्ट्रसङ्घीय निकायहरूले बताएका छन्।
आप्रवासनका लागि अन्तर्राष्ट्रिय सङ्गठन (आइओएम) र संयुक्त राष्ट्रसङ्घीय शरणार्थी उच्चायुक्त (युएनएचसीआर) ले संयुक्त वक्तव्य जारी गर्दै जुनको अन्त्यतिर द्वन्द्वग्रस्त म्यान्माको राखाइन राज्यबाट प्रस्थान गरेका दुई डुङ्गा दुर्घटनामा परेको आशङ्का गरिएको जनाएको हो।
ती डुंगामा अधिकांश यात्रु रोहिङ्ग्या मुस्लिम अल्पसङ्ख्यक समुदायका सदस्य रहेको बताइएको छ। केही यात्रु बङ्गलादेशको कोक्स बजारस्थित विशाल शरणार्थी शिविरबाट यात्रा थालेका थिए। कोक्स बजारस्थित शरणार्थी शिविरमा १० लाखभन्दा बढी रोहिङ्ग्या शरणार्थी बसोबास गर्दै आएका छन्।
राष्ट्रसङ्घका अनुसार करिब २५० यात्रु रहेको एउटा डुंगा सँग यात्रा सुरु गरेको केही समयमै सम्पर्क विच्छेद भएको थियो। अर्को करिब २८० यात्रु बोकेको डुंगा जुलाई ८ मा म्यान्माको अय्यारवाडी तट नजिक डुबेको अनुमान गरिएको छ।
युएनएचसीआर र आइओएमले घटनाको आधिकारिक पुष्टि हुन बाँकी रहे पनि सम्भावित ठूलो जनधनको क्षतिप्रति गम्भीर चिन्ता व्यक्त गरेका छन्। दुवै निकायले यी यात्रा सामान्य समुद्री यात्राको मौसमभन्दा बाहिर गरिएको उल्लेख गर्दै त्यसबेला समुद्रको अवस्था अत्यन्त जोखिमपूर्ण हुने र पछिल्लो समय परेको अविरल वर्षा तथा बाढीले जोखिम अझ बढाएको बताएका छन्।
यदि घटनाको पुष्टि भएमा यस वर्ष अन्डमान सागर र बङ्गालको खाडी क्षेत्रमा रोहिङ्ग्या शरणार्थी तथा बंगलादेश नागरिक गरी बेपत्ता वा मृत्यु हुनेको सङ्ख्या करिब ३०० ले थप वृद्धि हुने राष्ट्रसङ्घले जनाएको छ।
रोहिङ्ग्या समुदायका मानिसहरू हरेक वर्ष सुरक्षित जीवन र राम्रो अवसरको खोजीमा मानव तस्करहरूले सञ्चालन गर्ने जोखिमपूर्ण समुद्री यात्रामा निस्कने गरेका छन्। युएनएचसीआरका अनुसार गत वर्ष मात्रै छ हजार ५०० भन्दा बढी रोहिङ्ग्यामध्ये करिब ९०० जना उत्तर हिन्द महासागर पार गर्ने क्रममा बेपत्ता भएका वा मृत्यु भएको विवरण प्राप्त भएको थियो।
राष्ट्रसङ्घीय निकायहरूले म्यान्मामा जारी द्वन्द्व, बिग्रँदो मानवीय अवस्था, बङ्गलादेशका शरणार्थी शिविरमा सीमित सहायता तथा अवसरका कारण रोहिङ्ग्याहरू जोखिमपूर्ण समुद्री यात्रा गर्न बाध्य भइरहेको उल्लेख गरेका छन्। साथै, मानव तस्करी र अवैध ओसारपसार गर्ने सञ्जालहरूले उनीहरूको निराशाको फाइदा उठाइरहेकोप्रति पनि चिन्ता व्यक्त गरेका छन्।
आइओएम र युएनएचसीआरले खोज तथा उद्धार अभियान विस्तार गर्न, शरण र संरक्षणमा पहुँच सुनिश्चित गर्न तथा मानव तस्करी र अवैध ओसारपसार गर्ने सञ्जालविरुद्ध प्रभावकारी कारबाही गर्न अन्तर्राष्ट्रिय समुदायसँग आग्रह गरेका छन्।
साथै, वर्षौंदेखि रोहिङ्ग्या शरणार्थीलाई आश्रय दिँदै आएको बंगलादेशको प्रशंसा गर्दै शरणार्थी र उनीहरूलाई आश्रय दिने समुदायका लागि दीर्घकालीन अन्तर्राष्ट्रिय सहयोग तथा जबर्जस्ती विस्थापनका मूल कारण समाधान गर्न थप प्रयास आवश्यक रहेकोमा जोड दिएका छन्।