काठमाडौँ
००:००:००
३२ असार २०८३, बिहीबार

३२ असार २०८३
प्रतीकात्मक तस्बिर।
अ+
अ-

डोल्पा । डोल्पाको त्रिपुरा सुन्दरी नगरपालिका–१ त्रिपुराकोट बजारस्थित भेरी करिडोर सडकखण्डबाट प्रहरीले स्रोत नखुलेको ५५ लाख १० हजार रुपैयाँसहित दुई जनालाई पक्राउ गरेको छ।

जिल्ला प्रशासन कार्यालय डोल्पाका प्रतिनिधिको उपस्थितिमा जिल्ला प्रहरी कार्यालय र सशस्त्र प्रहरी बलको संयुक्त टोलीले बुधबार नियमित चेकजाँचका क्रममा उनीहरूलाई नियन्त्रणमा लिएको हो।

जिल्ला प्रहरी कार्यालय डोल्पाबाट प्रहरी निरीक्षकको नेतृत्वमा ११ जना र सशस्त्र प्रहरी बल नेपाल नम्बर ४६ गुल्म हेडक्वार्टर डोल्पाबाट सशस्त्र प्रहरी निरीक्षकको नेतृत्वमा १० जना गरी २१ सदस्यीय संयुक्त सुरक्षा टोलीले भेरी करिडोर सडकखण्डमा चेकजाँच गरिरहेको थियो। सोही क्रममा दुनैबाट छलतर्फ जाँदै गरेको भे १३ प ९२६५ नम्बरको मोटरसाइकल रोकेर जाँच गर्दा ५५ लाख १० हजार रुपैयाँ बरामद गरिएको प्रहरीले जनाएको छ।

पक्राउ पर्नेमा त्रिपुरा सुन्दरी नगरपालिका–७ छलका अन्दाजी ३२ वर्षीय मोटरसाइकल चालक विष्णुलाल रोकाय र पछाडि सवार सोही स्थानका अन्दाजी ४२ वर्षीय भक्ति चन्द्र रोकाय रहेका छन्। उनीहरूले उक्त रकमको वैध स्रोत खुलाउन नसकेपछि प्रहरीले रकम, मोटरसाइकल तथा दुवै जनालाई नियन्त्रणमा लिएको हो।

जिल्ला प्रहरी कार्यालय डोल्पाका सूचना अधिकारी तथा प्रहरी निरीक्षक विनय कुमार सिंहका अनुसार घटनाका सम्बन्धमा थप अनुसन्धान भइरहेको छ।