काठमाडौँ
००:००:००
१ श्रावण २०८३, शुक्रबार

१ श्रावण २०८३
अ+
अ-

काठमाडौँ। नेपाल टेलिकमले मुगु र बाजुराका दुर्गम हिमाली बस्तीमा फोरजी सेवा विस्तार गरेको छ।

टेलिकमले मुगुको सोरु गाउँपालिका–६ सोरुकोट तथा बाजुराको हिमाली गाउँपालिका–१ बिच्छ्याको नेटा र वडा नं ५ कुवाडी क्षेत्रमा फोरजी सेवा सञ्चालनमा ल्याएको हो।

सोरुकोटमा सेवा शुभारम्भका अवसरमा आयोजित कार्यक्रममा स्थानीय जनप्रतिनिधि, सरकारी निकायका प्रतिनिधि, नेपाल टेलिकमका प्राविधिक कर्मचारी तथा स्थानीयवासीको उल्लेख्य सहभागिता थियो।

कार्यक्रममा सोरु गाउँपालिकाका अध्यक्ष धर्मबहादुर शाही र उपाध्यक्ष केशरबहादुर शाहीले दुर्गम क्षेत्रमा आधुनिक दूरसञ्चार सेवा विस्तार हुनु स्थानीय नागरिकका लागि ऐतिहासिक उपलब्धि भएको उल्लेख गर्दै सेवाको दिगो सञ्चालन, संरक्षण तथा आवश्यकताअनुसार क्षमता विस्तारका लागि गाउँपालिकाले आवश्यक समन्वय र सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरेका थिए।

नेपाल टेलिकमका अनुसार बिच्छ्याको नेटामा जडान गरिएको फोरजी टावरबाट कोट, नेटा, बाम, बौडी, यौना, नातीखोलालगायत गुम्बासम्म तथा बाजुराबाट रानिसैन पुग्ने पदमार्गसम्म सेवा पुगेको छ।

त्यसैगरी कुवाडी खोलाको सङ्गम आसपासका गाउँ तथा हुम्लाको ताँजाकोट गाउँपालिका–२ जाने मार्गमा पनि फोरजी सेवाको पहुँच विस्तार भएको छ।

फोरजी सेवा सञ्चालनमा आएसँगै स्थानीयवासीले उच्च गतिको मोबाइल इन्टरनेट, गुणस्तरीय भ्वाइस सेवा तथा एसएमएस सेवाको सहज लाभ लिनसक्ने नेपाल टेलिकमले जनाएको छ। यसबाट स्थानीय आर्थिक तथा सामाजिक विकासमा टेवा पुग्नुका साथै सूचना, शिक्षा, स्वास्थ्य तथा सरकारी सेवामा नागरिकको पहुँच थप सहज हुने अपेक्षा गरिएको छ।

नेपाल टेलिकमले ‘राष्ट्रको सञ्चार’ भन्ने आफ्नो प्रतिबद्धताअनुरूप देशका सुगमदेखि अतिदुर्गम क्षेत्रसम्म अत्याधुनिक दूरसञ्चार सेवा र सूचना प्रविधिको पहुँच विस्तार गर्ने अभियानलाई निरन्तरता दिएको जनाएको छ।