सुर्खेत। कर्णालीको सडक पूर्वाधारको अवस्था अनुगमन तथा निरीक्षण गर्न पूर्वाधार विकासमन्त्री सुनिल लम्साल कालीकोट पुगेका छन्।
सडकको अवस्थाबारे शुक्रबार सडक डिभिजन कार्यालय सुर्खेतका प्रमुखसहित कर्मचारीसँग संक्षिप्त जानकारी लिएलगत्तै मन्त्री लम्साल कर्णाली राजमार्ग दैलेखहुँदै कालिकोट पुगेको प्रतिनिधिसभा सांसद रमेशकुमार सापकोटाले जानकारी दिए।
उनका अनुसार मन्त्री लम्सालले शनिबार कालिकोट–नाग्म–गमगढी सडक र आइतबार खुलालु–कोल्टी–सिमकोट सडक हुँदै बाजुराको कोल्टी प्रस्थान गरी सडक अनुगमन तथा निरीक्षण गर्ने कार्यतालिका रहेको छ।
ती सडकको निरीक्षण सकेलगत्तै उनी नेपाल–चीन सीमानाका हिल्सा र हुम्लाको सिमकोटसम्मको सडक सञ्जालको निरीक्षणमा पुग्ने सांसद सापकोटाले बताए।
स्थलगत अनुगमन तथा निरीक्षणको यात्रामा हिँडेको मन्त्री लम्सालले जनताको दुःख जनताकै क्षेत्रमा आएर सुन्ने र त्यही मुताबिक योजना बनाएर सरकार अगाडि बढ्ने लक्ष्यका साथ कर्णाली आएको बताइएको छ।