काठमाडौं । नेपाल टेलिकमको सिमकार्ड (फिजिकल वा ई–सिम) हराएमा वा बिग्रेमा अब अनलाइनमार्फत आवश्यक विवरण भरेर सहज तरिकाले नयाँ सिम लिन सकिने भएको छ। नेपाल टेलिकमले आज (२०८३ साउन १) देखि यो सेवाको शुभारम्भ गरेको छ।
यसरी हराएको वा बिग्रेको सिमकार्डको सट्टामा नयाँ फिजिकल वा ई–सिम लिन चाहने सेवाग्राहीले esim.ntc.net.npलगइन गरी त्यहाँ रहेको Apply for lost/Damaged Sim मा क्लिक गरे पश्चात दिइएको निर्देशन अनुसार रजिष्टर गरी आवश्यक विवरण उपलब्ध गराउनु पर्नेछ।
सम्पूर्ण विवरण भरिसके पश्चात ग्राहक स्वयं काउन्टरमा उपस्थित भएर वा आफ्नो प्रतिनिधिमार्फत उक्त सिमकार्ड लिन सकिन्छ।
यसका लागि आवश्यक रु. ५० काउन्टरमै तिर्ने र आफू उपस्थित हुन नसकेमा काउन्टरमा आउने प्रतिनिधिको नाम समेत फारममै उल्लेख गर्नु पर्नेछ। प्रतिनिधिले आफ्नो परिचय खुल्ने कागजात समेत उपलब्ध गराउनु पर्नेछ । ग्राहकको गोपनियता र आवश्यक सुरक्षाका लागि यी सबै व्यवस्था गरिएको हो।
esim.ntc.net.np लगइन गरेर हाल हराएको वा बिग्रेको सिमको सट्टा नयाँ सिम लिन सकिने सुविधा थप गरिएको हो।
यस पोर्टल अन्तर्गत नयाँ प्रिपेड ई–सिम लिन, फिजिकल सिमलाई ई–सिम बनाउन, नयाँ फिजिकल सिम लिन र ग्राहक विवरण केवाईसी अद्यावधिक गर्नका लागि आवश्यक केवाईसी पोर्टल समेत उपलब्ध छ।