झापा। झापाको बिर्तामोडबाट प्रहरीले लागुऔषध ब्राउन सुगरसहित एक जना भारतीय नागरिकलाई पक्राउ गरेको छ।
इलाका प्रहरी कार्यालय अनारमनी र लागुऔषध नियन्त्रण ब्यूरो शाखा कार्यालय काँकरभिट्टाबाट खटिएको प्रहरीको संयुक्त टोलीले उनलाई नियन्त्रणमा लिएको हो।
पक्राउ पर्नेमा भारतको पश्चिम बङ्गाल राज्य, दार्जिलिङ जिल्ला, खोरीबारी ग्रामपञ्चायत बस्ने ३४ वर्षीय कमल बर्मन रहेका जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी एवं प्रहरी नायब उपरीक्षक रञ्जन अवाले जानकारी दिए।
उनका अनुसार बिर्तामोड नगरपालिका-५ मा रहेको देउराली होटलमा लागुऔषधको अवैध खरिदबिक्री भइरहेको भन्ने विशेष सूचनाका आधारमा प्रहरी टोलीले छापा मारेको थियो।
होटलको कोठामा बसिरहेका बर्मनलाई जाँच गर्दा उनको साथबाट प्लास्टिकबाहेक ३१ ग्राम ९७० मिलिग्राम ब्राउन सुगरजस्तो देखिने लिसाइलो पदार्थ बरामद गरिएको प्रहरी नायब उपरीक्षक अवाले जानकारी दिए।
शुक्रबार साँझ पक्राउ परेका बर्मनमाथि इलाका प्रहरी कार्यालय अनारमनीबाट थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।