काठमाडौँ । अविरल वर्षापछि आएको बाढी र पहिरोका कारण देशका विभिन्न मुख्य राजमार्ग अवरुद्ध भएका छन्। नेपाल प्रहरीका अनुसार कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका धेरै सडक खण्डमा यातायात सेवा प्रभावित भएको छ।
कोशी प्रदेशमा इलामको राजदुवाली र ताप्लेजुङको खोक्से खोलास्थित मेची राजमार्ग पहिरोका कारण पूर्ण रूपमा बन्द छ। भोजपुरको मध्यपहाडी लोकमार्गमा भने बाढीका कारण एकतर्फी मात्रै सवारी सञ्चालन भइरहेको छ।
बागमती प्रदेशमा काभ्रेको बीपी राजमार्ग र मकवानपुरको कान्ति लोकपथमा सम्भावित बाढी तथा पहिरोको जोखिमका कारण सवारी सञ्चालन रोकिएको छ। सिन्धुपाल्चोकको जिरोकिलो र कोदारीस्थित अरनिको राजमार्ग तथा नुवाकोटको ककनी क्षेत्रमा पनि पहिरोले सडक अवरुद्ध बनाएको छ।
गण्डकी प्रदेशमा बागलुङको कालीगण्डकी करिडोर र गोरखाको आरुघाट–माछीखोला सडक खण्ड पहिरोका कारण पूर्ण रूपमा बन्द छन्। लुम्बिनी प्रदेशमा अर्घाखाँचीको सालझन्डी–ढोरपाटन सडक तथा रोल्पाको घोराही–थवाङ सहिद राजमार्ग पनि अवरुद्ध भएका छन्।
प्रहरीले यात्रा गर्नुअघि सम्बन्धित प्रहरी कार्यालय वा सडक विभागको अद्यावधिक सूचना हेरेर मात्रै यात्रा गर्न सर्वसाधारणलाई आग्रह गरेको छ।