सोचलाई प्रविधिमा आधारित उद्यममा रूपान्तरण गर्न युवा नेपाली नवप्रवर्तकलाई मद्दत
काठमाडौँ। नेपालस्थित अमेरिकी दूतावासले ‘कोड फर इम्प्याक्ट’ कार्यक्रम पूरा गरेका युवा नवप्रवर्तकका सात टोलीसँग खुसीयाली मनाएको छ।
कोड फर इम्प्याक्ट कार्यक्रम आशाजनक सोचहरूलाई वास्तविक व्यवसायमा रूपान्तरण गर्नमा नेपालका युवालाई सहयोग पुर्याउन बनाइएको र प्रविधिमा आधारित देशव्यापी उद्यमशीलता पहल हो।
समारोहमा, कार्यक्रमको अन्तिम चरणसम्म पुग्न सफल ती सात टोलीले ६ महिनाको प्रशिक्षण, मार्गदर्शन (मेन्टोरसिप), ग्राहकसम्बन्धी अध्ययन र उत्पादन परीक्षणबाट विकसित उद्यमहरू प्रस्तुत गरे। अन्तिम ‘पिच’ हरूको मूल्यांकन नेपालस्थित अमेरिकी दूतावासका सार्वजनिक मामिला प्रमुख माइक हार्कर‚ शार्क ट्यांक नेपाल कार्यक्रमका लगानीकर्ताहरू आनन्द बगरिया, क्याबिनेट श्रेष्ठ तथा ऋतु वैद्य‚ र अमेरिकन चेम्बर अफ कमर्स नेपालका कार्यकारी निर्देशक अमिर थापाद्वारा गरिएको थियो।
चारजना राष्ट्रिय विजेता Aashirbad Care, Datahiti, Neptou र Synaptic मध्ये प्रत्येकले एक हजार अमेरिकी डलरको बिउ-रकम अनुदान, पाँच हजार डलरबराबरको अमेजन वेब सर्भिसेज क्लाउड क्रेडिट्स, अमेरिकी एआई प्लेटफर्महरूमा पहुँच र व्यावसायिक तथा प्राविधिक सहयोगको निरन्तरता प्राप्त गरेका छन्।
विजयी चार टोलीलाई सहयोग स्वरूप एनसेलले पनि थप दश लाख रुपैयाँको सहयोग प्रदान गरेको छ। त्यस्तै अन्तिम चरणसम्म पुगेका बाँकी तीन सहभागीमध्ये प्रत्येकले एक हजार डलरबराबरको अमेजन वेब सर्भिसेज क्रेडिट्स र मार्गदर्शनको निरन्तरता प्राप्त गरेका छन्।
‘कोड फर इम्प्याक्ट कार्यक्रमले नेपालका नवप्रवर्तकहरूको आगामी पुस्तालाई व्यवसायको निर्माण, रोजगारीको सिर्जना र वास्तविक समस्याको समाधानमा सहयोग गर्ने अमेरिकी प्रतिबद्धता उजागर गरेको छ,” नेपालस्थित अमेरिकी दूतावासका सार्वजनिक मामिला प्रमुख माइक हार्करले भने। कार्यक्रमले विश्वसनीय अमेरिकी प्रविधिको प्रयोग विस्तार पनि गर्नुका साथै अमेरिका र नेपालबीचको आर्थिक सम्बन्धलाई अझ सुदृढ बनाउने उनले विश्वास व्यक्त गरे।
यस सहकार्यबारे आफ्नो उत्साह व्यक्त गर्दै एनसेलकी कर्पोरेट सञ्चार, बजारीकरण तथा दिगोपन प्रमुख विशाखालक्ष्मी खड्काले भनिन्, “एनसेलका हामी विश्वास गर्छौं कि हाम्रो भूमिका कनेक्टिभिटीभन्दा परसम्म फैलिएको छ। नवप्रवर्तनलाई दिगो प्रभाव सिर्जना गर्न सक्षम बनाउन हामी प्रतिबद्ध छौँ। साहसी सोचहरूलाई सार्थक समाधानहरूमा रूपान्तरण गर्न युवा नवप्रवर्तकलाई आवश्यक मद्दत गरी सशक्त बनाउन अमेरिकी दूतावास, आद्यन्त एड्भाइजरी र अन्यसँग साझेदारी गर्न पाउँदा हामी हर्षित छौँ। हाम्रो लक्ष्य सँगै मिलेर नेपालको नवप्रवर्तन इकोसिस्टममा अझ ठुलो लगानी प्रेरित गर्नु र उद्यमीहरूको आगामी पुस्ता तयार पार्न मद्दत गर्नु रहेको छ।”
सन् २०२६ को जनवरीमा सुरु भएको कोड फर इम्प्याक्ट कार्यक्रममा नेपालभरका १९० टोलीबाट आवेदन प्राप्त भएका थिए। उक्त कार्यक्रमले सातै प्रदेशमा आयोजना गरिएका भर्चुअल बुटक्याम्प, कृत्रिम बुद्धिमत्ता प्रयोगशाला र प्रादेशिक ह्याकाथनका लागि ३५ टोलीको छनोट गर्यो। सेमिफाइनलमा पुगेका १४ जनाले त्यसपछि ग्राहक प्रमाणीकरण, उत्पादन विकास, साइबर सुरक्षा, व्यवसायीकरण र लगानीसम्बन्धी तयारीमा केन्द्रित चार महिना लामो अनुकूलित मार्गदर्शन पूरा गरे।
फाइनलसम्म पुगेकामध्ये कतिपय टोलीले सुरुवाती ग्राहकहरू बनाए, आम्दानी सिर्जना गरे। पाइलट परियोजना सुरु गरे वा अन्तिम प्रस्तुतिअघि नै बिटा परीक्षण आरम्भ गरे। उनीहरूका उद्यम ज्येष्ठ नागरिकको हेरचाह, सीमापार भुक्तानी, कृषि, स्वास्थ्य सेवा, पर्यटन, विकासात्मक भिन्नता भएका बालबालिकाका लागि सिकाइ उपकरण र हस्तलिखित नेपाली ब्रेलको डिजिटाइजेसनमा भएका चुनौतीहरूको समाधानमा केन्द्रित छन्।
सबै सहभागीले कृत्रिम बुद्धिमत्ता, क्लाउड कम्प्युटिङ, साइबर सुरक्षा, द्रुत प्रयोग (र्यापिड एक्सपेरिमेन्टेसन), उत्पादन र बजारबीचको उपयुक्तता र लगानीको तयारीलगायतका अमेरिकी प्रविधि प्लेटफर्म एवं स्टार्टअप अभ्यासहरूको प्रत्यक्ष अनुभव हासिल गरे। उनीहरूले संस्थापक, इन्जिनियर, लगानीकर्ताका साथै अमेरिकी प्रविधि तथा व्यापारिक सञ्जालहरूसँग जोडिएका व्यावसायिक नेतृत्वकर्ताहरूसँग पनि सहकार्य गरे।
आद्यन्त एड्भाइजरीले कोड फर इम्प्याक्टको आयोजना नेपालस्थित अमेरिकी वाणिज्य सङ्घ, सेक्युरिटीपाल एआई, फ्युजमसिन्स, जनिज सलुसन र अन्य प्रविधि तथा व्यावसायिक संस्थाहरूसँगको सहकार्यमा गरेको हो।

अन्तिम चरणसम्मको यात्रा तय गरेका सातै टोलीले मार्गदर्शन र प्राविधिक परामर्शका साथै सम्भावित लगानीकर्ता, ग्राहक र व्यावसायिक व्यक्तिहरूसँगको परिचय निरन्तर प्राप्त गर्नेछन्।
कोड फर इम्प्याक्टले निश्चित लक्ष्यसहितको अमेरिकी सहयोग, अमेरिकी प्रविधि र निजी क्षेत्रको सहकार्यले कसरी युवा नेपालीलाई अमेरिका र नेपालबीच व्यापार, लगानी र नवप्रवर्तनका नयाँ अवसरहरूको सिर्जना गर्दै आफ्नो देशभित्रै व्यवसायहरू निर्माण गर्न मद्दत गर्न सक्छ भन्ने देखाउँछ। साथै युवा नेपाली उद्यमीहरूलाई अमेरिकी स्टार्टअप विधि, प्राविधिक विज्ञता र अमेरिकी प्रविधि तथा व्यापारिक सञ्जालहरूसँगको पहुँच प्रदान गरेर यो कार्यक्रमले साझा आर्थिक समृद्धि अगाडि बढाउँछ, नवप्रवर्तनमा अमेरिकाको नेतृत्व सुदृढ बनाउँछ र नेपाललाई अझ प्रतिस्पर्धी, उत्थानशील तथा डिजिटल रूपमा जडित बनाउन सहयोग पुर्याउँछ।