काठमाडौँ। कृषि, वन तथा पर्यावरण मन्त्रालयले एक हजार २५० मेट्रिकटन डिएपी रासायनिक मल सोमबार नेपाल आइपुग्ने जनाएको छ।
‘ग्लोबल टेन्डर’मार्फत खरिद गरिएको ३० हजार मेट्रिकटन डिएपी मल भारतको कोलकाता बन्दरगाहमा गत जुलाई १० मा आइपुगेको थियो। उक्त मलमध्ये एक हजार २५० मेट्रिकटन मल साउन १ गतेदेखि नेपालतर्फ ढुवानी सुरु गरिएको मन्त्रालयले जनाएको छ।
बाँकी मलको कोलकाता बन्दरगाहमै प्याकेजिङ (ब्यागिङ) कार्य भइरहेको छ। प्याकेजिङ सम्पन्न भएपछि मल क्रमशः नेपाल भित्र्याइने कृषि, वन तथा पर्यावरणमन्त्रीको सचिवालयले जानकारी दिएको छ।
मल आपूर्तिको व्यवस्थापन कृषि सामग्री कम्पनीमार्फत हुँदै आएको छ। सरकारले किसानका लागि आवश्यक रासायनिक मलको नियमित आपूर्ति सुनिश्चित गर्न विभिन्न माध्यमबाट खरिद तथा ढुवानी प्रक्रिया अघि बढाउँदै आएको छ।