काठमाडौँ
००:००:००
४ श्रावण २०८३, सोमबार

सुर्खेत प्रहरीको त्रिवर्षीय रिपोर्ट

३ श्रावण २०८३
जिल्ला प्रहरी कार्यालय सुर्खेतका प्रमुख एवं प्रहरी उपरीक्षक ठाकुरप्रसाद पोखरेल।
अ+
अ-

सुर्खेत। सुर्खेतमा अपराधजन्य घटना बर्सेनि बढ्दै गएको देखिन्छ। जिल्ला प्रहरी कार्यालय सुर्खेतका अनुसार पछिल्लो आर्थिक वर्ष ०८२/८३ मा १.१५ प्रतिशतले अपराध बढेको छ।

जिल्ला प्रहरी कार्यालयले सार्वजनिक गरेको आव ०८०/८१ यताको त्रिवर्षीय रिपोर्टअनुसार आव ०८०/८१ को तुलनामा ०८१/८२ मा ०.१४ प्रतिशत बढेको थियो। यस्तै आव ०८१/८२ को तुलनामा ०८२/८३ मा जिल्लाभित्र १.१५ प्रतिशत अपराध बढेको छ।

रिपोर्टअनुसार जिल्ला प्रहरी कार्यालय सुर्खेत र मातहतका इलाका प्रहरी कार्यालयहरुमा पछिल्ला तीन आवभित्र दुई हजार ६०३ वटा अपराधजन्य मुद्दा दर्ता भएका छन्। तीनवटै आवमा मुद्दा दर्ता बढ्दो क्रममा छन्। आव ०८०/८१ मा ८२० मुद्दा दर्ता भएका थिए। आव ०८१/८२ मा ८३४ र ०८२/८३ मा ९४९ मुद्दा तर्दा भएका छन्।

यस्तै कर्णालीकै सबैभन्दा विकसित मानिने सुर्खेतमा लागुऔषधसम्बन्धित घटना पनि बर्सेनि बढ्दो क्रममा छन्। यी घटनामा पछिल्लो समय बालबालिका पनि संलग्न भएको प्रहरीको रिपोर्टले देखाउँछन्। प्रहरीका अनुसार आव ०८०/८१ मा लागुऔषधसँग सम्बन्धित १९२ मुद्दा मुद्दा दर्ता भएका थिए। उक्त वर्ष चार बालक संलग्न थिए। ०८१/८२ मा ३०६ मुद्दा दर्ता भए भने एकजना बालक संलग्न रहेको पाइयो। पछिल्लो आव ०८२/०८ मा ४२१ मुद्दा दर्ता भए। यसभित्र सातजना बालक र दुई बालिका संलग्न रहेको पाइयो।

आत्महत्याको स्थिति भयावह
सबैभन्दा धेरै जनघनत्व भएको सुर्खेतमा आत्महत्याको पनि भयावह स्थिति प्रहरीको रिपोर्टमा देखिन्छ। आव ०८०/८१ देखि ०७२/८३ सम्मको प्रहरीको रिपोर्ट हेर्दा चार लाख १५ हजार १२६ जनसंख्या स्थायी बसोबास गर्ने यो जिल्लामा वार्षिक औषतमा ११० जनाले आत्महत्या गर्ने गरेको देखिन्छ। आव ०८०/८१ देखि ०८२/८३ सम्म सुर्खेतमा ३३२ जनाले आत्महत्या गरेको सुर्खेत प्रहरीले जनाएको छ।

प्रहरी कार्यालयका अनुसार तीमध्ये आव ०८०/८१ मा १११ जना, ०८१/८२ मा ११४ जना र ०८२/८३ मा १०७ जनाले आत्महत्या गरेका छन्। आत्महत्या गरेका ३३२ जनामध्ये ८९ प्रतिशत अर्थात २९५ जनाले झुन्डिएर आत्महत्या गरेको रिपोर्टले देखाएको छ।

जघन्य अपराधमा जबरजस्ती करणी धेरै
सुर्खेतमा घटेका जघन्य अपराधका घटनामध्ये सबैभन्दा धेरै जबरजस्ती करणीका घटना छन्। त्रिवर्षीय तथ्यांकअनुसार जबरजस्ती करणको घटना पनि बढ्दो क्रममा छन्। आव ०८०/८१ देखि ०८२/८३ सम्म २४४ वटा जबरजस्ती करणीसम्बन्धी मुद्दा दर्ता भएका छन्। ०८०/८१ मा ८५ मुद्दा दर्ता भएकामा ०८१/८२ मा ६८ मुद्दा दर्ता भए। गत आवमा ९१ मुद्दा दर्ता भएका छन्।

आव ०८०/८१ देखि ०८२-८३ सम्म १९ वटा कर्तव्य ज्यानसम्बन्धL मुद्दा प्रहरीमा दर्ता भएका छन्। यसको संख्या पनि बढ्दो देखिन्छ। सुर्खेत प्रहरीका अनुसार पछिल्ला तीन आवमा घरेलु हिंसाका मुद्दा एक हजार ३८२ वटा दर्ता भएका छन्। सामाजिक हिंसासम्बन्धी एक हजार ३५७ मुद्दा दर्ता भएका छन्।

गत आव (०८२/८३) मा साइबरसम्बन्धी मुद्दा ७९१ वटा दर्ता भएका छन्। जसमा विद्युतीय ठगी, सामाजिक सञ्जाल फेसबुक ह्याक र मोबाइल चोरी तथा हराएकोसम्बन्धी घटना छन्।

जिल्ला प्रहरी कार्यालय सुर्खेतका प्रमुख एवं प्रहरी उपरीक्षक ठाकुरप्रसाद पोखरेलका अनुसार प्रहरीमा दर्ता भएका अधिकांश मुद्दाका घटना आपराधिक मानसिकताकै कारण भएको देखिन्छ। उनले भने, “कतिपय घटना कानुनको ज्ञान नभएका कारण भएका हुन्छन्। यहाँ आएकामध्ये त्यस्ता घटना न्यून छन्। धेरैजसो आपराधिक मानसिकताले भएका घटना हुन्।”