काठमाडौँ
००:००:००
४ श्रावण २०८३, सोमबार

४ श्रावण २०८३
अ+
अ-

काठमाडौँ। काठमाडौँ महानगरपालिका–३२ स्थित पेप्सीकोला फुटबल मैदानको स्तरोन्नति धमाधम भइरहेको छ।

काठमाडौँ महानगरपालिकाको आर्थिक लगानीमा यहाँ ११ ‘ए’ साइड कृत्रिम घाँसे मैदान निर्माण भइरहेको हो।

मैदानमा कार्पेट बिछ्याउने काम सकिएको र बालुवा भर्न बाँकी रहेको महानगरपालिकाको सार्वजनिक निर्माण विभागका इन्जिनियर अर्जुन अर्यालले बताए।

बालुवा भर्नेसहित मैदान स्तरोन्नतिको सबै काम सकिन अझै दुई महिना समय लाग्ने उनको भनाइ छ। ‘कार्पेटमाथि बालुवा राख्नुपर्छ। चिसो मौसममा बालुवा राख्दा समय लाग्छ,’ उनले भने, ‘मंसिरसम्म सक्नुपर्ने भन्ने सम्झौता छ। अब धेरैमा दुई महिनामा सकिन्छ।’

उनकाअनुसार मैदानमा पानी जम्न नदिन, टिकाउ बनाउन र खेल खेल्दा सहज होस् भनेर बालुवाको प्रयोग गरिन्छ। कृत्रिम घाँस प्लास्टिकका फाइबरबाट बनेको हुन्छ। त्यसैले बालुवा हालेर ती फाइबरलाई ठाडो र स्थिर राखिन्छ। यसले घाँस चाउरिन वा उखेलिन दिँदैन।

बालुवाले मैदानलाई नरम बनाउने भएकाले खेलाडी दौडँदा वा लड्दा चोट लाग्ने जोखिम कम हुन्छ। यसले बलको गति र उफ्राइलाई पनि प्राकृतिक घाँसजस्तै बनाउँछ। यसबाहेक वर्षाको पानी छिटो निकास हुने भएकाले मैदानमा पानी जम्दैन र खेल सञ्चालन गर्न सहज हुन्छ। पानी जम्न र मैदान बिग्रन नदिन ड्रेन (नाली) र हिँड्नका लागि छेउमा फुट ट्रयाक निर्माण गरिने इन्जिनियर अर्यालले बताए।

धुलाम्मे र अव्यवस्थित रहेको मैदानलाई कृत्रिम घाँस प्रयोग गरेर व्यवस्थित बनाउने उद्देश्यले महानगरपालिकाले आ.व. २०८१/८२ मा प्रक्रिया अघि बढाएको थियो। यसअन्तर्गत पेप्सीकोलासहित काठमाडौँका ६ ठाउँमा घाँसे मैदान निर्माण थालिएको थियो।

बाँसबारी, नयाँबजारको सोसल ग्राउण्ड, बल्खुको बागमती करिडोर, चाबहिलको गणेशथानमा एउटै ठेक्काअन्तर्गत घाँसे मैदान निर्माणको काम भइरहेको छ। यी ६ वटै मैदान स्तरोन्नति तथा निर्माणको ठेक्का जेएसएस/एसएम जेभी ज्ञानेश्वरले ६ करोड ८० लाख रुपैयाँमा लिएको थियो।

तस्बिर : नेपाल फोटो लाइब्रेरी