काठमाडौं । अमेरिका र इरानबीच बढ्दो सैन्य तनावले विश्व ऊर्जा बजारमा अनिश्चितता बढाएसँगै अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्य तीव्र रूपमा उकालो लागेको छ। सोमबार ब्रेन्ट क्रुडको मूल्य प्रतिब्यारेल ९० डलरभन्दा माथि पुगेको छ।
ब्रेन्ट क्रुडको मूल्य २.३३ प्रतिशत अर्थात् २.०५ डलरले वृद्धि भई प्रतिब्यारेल ९०.१५ डलर पुगेको हो। यो मूल्य गत जुन ११ यताकै उच्च स्तर हो। यसअघि गत साता मात्रै ब्रेन्ट क्रुडको मूल्य १५.९ प्रतिशतले बढेको थियो, जुन अप्रिलयताकै सबैभन्दा ठूलो साप्ताहिक वृद्धि भएको बताइएको छ।
यस्तै, अमेरिकी डब्लूटीआई क्रुडको मूल्य पनि २.१३ प्रतिशत अर्थात् १.७६ डलरले बढेर प्रतिब्यारेल ८४.२५ डलर पुगेको छ।
तेलको मूल्य वृद्धिको मुख्य कारण मध्यपूर्वमा चर्किएको द्वन्द्व र विश्वको प्रमुख तेल ढुवानी मार्ग स्ट्रेट अफ हर्मुजमा देखिएको अवरोधको जोखिम रहेको विश्लेषकहरूले बताएका छन्। विश्वव्यापी तेल व्यापारको करिब पाँच भागको एक भाग यही समुद्री मार्ग हुँदै हुने भएकाले आपूर्ति प्रभावित हुने आशंकाले बजारमा दबाब बढेको हो।
पछिल्ला दिनहरूमा अमेरिका र इरानबीच सैन्य गतिविधि तीव्र बनेका छन्। अमेरिकाले इरानमाथि लगातार आक्रमण गरिरहेको र त्यसको जवाफमा इरानसँग सम्बन्धित पक्षहरूले खाडी क्षेत्रमा रहेका केही अमेरिकी सहयोगी मुलुकहरूलाई लक्षित गरेको रिपोर्टहरू सार्वजनिक भएका छन्।
यसैबीच, इरानी रिभोलुसनरी गार्डले स्ट्रेट अफ हर्मुज पार गर्ने क्रममा दुईवटा तेल ट्यांकरमा विस्फोट भएको दाबी गरेको छ। उक्त घटनाले समुद्री यातायात र विश्वव्यापी ऊर्जा आपूर्ति शृंखलाबारे थप चिन्ता बढाएको छ।
मध्यपूर्वको अवस्था थप बिग्रिएमा कच्चा तेलको मूल्य अझै बढ्न सक्ने जोखिम रहेको भन्दै बजार सहभागीहरूले घटनाक्रमलाई नजिकबाट नियालिरहेका छन्।