काठमाडौँ । फिफा विश्वकप २०२६ मा फ्रान्सका स्टार स्ट्राइकर किलियन एमबाप्पेले लगातार दोस्रो पटक गोल्डेन बुट अवार्ड जितेका छन्। फाइनल खेलमा अर्जेन्टिनाका कप्तान लियोनल मेसी गोलविहीन रहेपछि एमबाप्पे सर्वाधिक गोलकर्ताको शीर्ष स्थानमा रहँदै व्यक्तिगत उपाधि सुरक्षित गर्न सफल भएका हुन्।
अतिरिक्त समयमा पुगेको रोमाञ्चक फाइनलमा अर्जेन्टिनालाई पराजित गर्दै स्पेनले विश्वकप उपाधि जितेको छ। उपाधिसँगै स्पेनले प्रतियोगिताका व्यक्तिगत अवार्डहरूमा पनि प्रभाव जमाएको छ।
तेस्रो स्थानका लागि भएको खेलमा फ्रान्स इङ्गल्यान्डसँग ६–४ ले पराजित भए पनि एमबाप्पेले दुई गोल गरेका थिए। ती गोलसँगै उनले प्रतियोगिताभर १० गोल पूरा गर्दै गोल्डेन बुट हात पारे। यससँगै उनी विश्वकप इतिहासमा दुई फरक संस्करण (२०२२ र २०२६) मा गोल्डेन बुट जित्ने पहिलो खेलाडी बनेका छन्।
एमबाप्पेले यस विश्वकपमा सेनेगलविरुद्ध दुई गोल गर्दै आफ्नो अभियान सुरु गरेका थिए। त्यसपछि इराकविरुद्ध दुई, स्विडेनविरुद्ध दुई, पाराग्वेविरुद्ध पेनाल्टीमार्फत एक र मोरक्कोविरुद्ध एक गोल गरेका थिए। तेस्रो स्थानको खेलमा थप दुई गोल गर्दै उनले आफ्नो गोल संख्या दोहो¥याएका हुन्।
उनले ८ गोल गरेका अर्जेन्टिनाका लियोनल मेसी, ७ गोल गरेका नर्वेका अर्लिङ हालान्ड तथा इङ्गल्यान्डका जुड बेलिङ्घमलाई पछि पारे। यसअघि २०२२ को विश्वकपमा पनि एमबाप्पेले फाइनलमा ह्याट्रिक गर्दै गोल्डेन बुट जितेका थिए।
स्पेनका रोड्रि बने सर्वोत्कृष्ट खेलाडी
विश्वकप उपाधि जितेको स्पेनले व्यक्तिगत अवार्डमा पनि उत्कृष्टता देखायो। स्पेनका मिडफिल्डर रोड्रि प्रतियोगिताकै सर्वोत्कृष्ट खेलाडी घोषित हुँदै ‘गोल्डेन बल’ अवार्ड जिते।
त्यस्तै, स्पेनकै युवा डिफेन्डर पाउ कुबार्सी उत्कृष्ट युवा खेलाडी चुनिए। प्रतियोगिताका सात खेलमा केवल एक गोल मात्र खाएको स्पेनका गोलकिपर उनाई सिमोनले ‘गोल्डेन ग्लोभ्स’ अवार्ड हात पारे।
फाइनलमा अर्जेन्टिनालाई अतिरिक्त समयमा पराजित गर्दै स्पेनले आफ्नो इतिहासमा दोस्रो पटक विश्वकप ट्रफी उचालेको हो।