काठमाडौँ। सर्लाहीमा मिटरब्याजपीडितमाथि साहूले कुटपिट गरेका छन्।
मिटरब्याजी साहू लक्ष्मी कुर्मी राउतको परिवारले बसबरिया गाउँपालिका-२ का इन्दल सहनीमाथि मंगलबार कुटपिट गरेको मिटरब्याज पीडित संघर्ष समितिकी केन्द्रीय सदस्य लक्ष्मी घिमिरेले बताइन्।
राउतसँग इन्दलले ८ लाख रुपैयाँ ऋण लिएका थिए। ऋण लिँदा ग्यारेन्टीको रूपमा पीडितको २६ कठ्ठा जमिन धितो पास भनेर राजीनामा पास गराइएको थियो। मौखिक रूपमा सावाँ-ब्याज चुक्ता गरेपछि जमिन फिर्ता गर्ने सर्त थियो।
तर, सहनीले पटक-पटक गरेर १०-११ लाख बुझाइसकेको छन्। वडा कार्यलयमा जग्गा फिर्ता गर्ने सहमति भएको थियो। घिमिरेका अनुसार राउतको निधन भएपछि परिवारले सहनीलाई पुन: दु:ख दिइरहेका थिए।
राउतका छोरा विलासले सहनीको जग्गा अर्कैकै नाममा बिक्री गरिदिएका छन्। सहनीले साहुबाट लिएको रकम सबै चुक्ता गरेपछि आफ्नो जमिन फिर्ता गर्न पटक-पटक अनुरोध गरे पनि पाएनन्।
पीडित सहनी मिटरब्याजविरुद्ध पैदल न्याय मार्चका सहभागी थिए। उनीसहितका पीडितसँग गृहमन्त्री सुधन गुरुङले निजगढमा वार्ता गरेका थिए।
विशालसहित उनका छोराहरू विशेषर, लक्ष्मण, जगदीश, रामप्रवेश शाह र श्रीमती समेतले सहनीमाथी कुटपिट गरेको घिमिरेले बताइन्।
कुटपिटबाट सहनीसहित उनका छोरा उमेश, मुना र श्रीमती भगवती कुमारी घाइते छन्। उनीहरू अहिले बरहथवा अस्पतालमा उपचाररत् रहेका छन्।
सर्लाही प्रहरी प्रवक्ता प्रहरी नायब उपरीक्षक बेदप्रसाद गौतमले घटनाबारे प्रहरीलाई जानकारी आइनसकेको बताए।